राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले मंगलबार बिहान झापाको कमल गाउँपालिकास्थित सुकुमवासी बस्तीमा पुगेर त्यहाका स्थानीयसँग प्रत्यक्ष भेटघाट र छलफल गरेका छन्।
बालेन बस्तीमा पुगेपछि स्थानीय सुकुमवासीले काठमाडौंका सुकुमवासी बस्तीमा डोजर चलाइएको विषय उठाउँदै झापामा पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका थिए। कतिपयले “बालेन आएपछि यहाँका सुकुमवासीलाई पनि उठाइदिन्छन् भन्ने हल्ला सुनिएको छ” भन्दै डर व्यक्त गरेका छन्।
स्थानीयको डर चिन्ता र जिज्ञासाको जवाफ दिँदै, काठमाडौंमा डोजर चलाइनुको उद्देश्य सुकुमवासीलाई विस्थापित गर्नु नभई उनीहरूको ज्यान जोगाउनु रहेको बालेनले स्पष्ट पारे। 'काठमाडौंमा खोला छेउको सार्वजनिक जग्गामा बस्ती थियो। बाढी आउँदा त्यो क्षेत्र पूरै डुबानमा पर्छ। असारमा बाढी आउँदा मान्छेहरू जोखिममा नपरुन भनेर सुरक्षित ठाउँमा सार्न खोजिएको हो। त्यसलाई गलत न्यारेटिभ बनाएर डोजर मात्र देखाइयो' बालेनले भने।
झापाको अवस्था भने फरक रहेको उनलेबताएका छन्। यहाँको त वास्तविक सुकुमवासी बस्ती हो, ४०-५० वर्षदेखि बसोबास गर्दै आउनुभएको छ। वास्तविक सुकुमवासीको हक अधिकार सुनिश्चित गर्नुपर्नेमा आफू स्पष्ट रहेको पनि बताएका छन्।
बालेनसँगै बस्ती पुगेका उनका सल्लाहकार कुमार वेनले २०४८ सालदेखि अहिलेसम्म २३ वटा भूमि तथा सुकुमवासी आयोग बने पनि समस्या समाधान नभएको बताएछन् । आयोग बने, प्रतिवेदन बने, तर सुकुमवासीले लालपूर्जा पाउने अवस्था बनेन, उनले भने।
त्यसक्रममा एक स्थानीय सुकुमवासीले आफ्नो गुनासो सुनाउँदै भने, “लगत उठाउँछन्, कर पनि लिन्छन्।" अस्ती पनि आयोगले सबै कागज लग्यो, तर अहिलेसम्म केही भएको छैन।
बालेनले भूमि आयोगका नाममा आफ्नै कार्यकर्ता भर्ती गर्ने र वास्तविक सुकुमवासी पछि पर्ने समस्या दोहोरिन नदिनुपर्ने धारणा राखे। वास्तविक सुकुमवासीले लालपूर्जा पाउनुपर्छ, राजनीतिक पहुँच भएकाले मात्र फाइदा लिने अवस्था अन्त्य हुनुपर्छ।
भेटघाटका क्रममा बालेनले सुकुमवासीको समस्या समाधान राजनीतिक नाराभन्दा नीतिगत र व्यवहारिक रूपमा गर्नुपर्नेमा जोड दिएका थिए।



















