परराष्ट्र मन्त्रालयले साउदी अरबबाट अत्यावश्यक कारणले नेपाल फर्किन चाहने नेपाली नागरिकलाई त्यहाँस्थित नेपाली दूतावासमा आवश्यक कागजात बुझाउन निर्देशन दिएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, राहदानी, भिसाको फोटोकपी र यात्रा योजनासहितको विवरण दूतावासमा पेश गरेर भिसा सहजीकरणका लागि अनुरोध गर्न सकिने व्यवस्था गरिएको छ।

पश्चिम एसियाका केही स्थानबाट सीमित हवाई उडानहरू सञ्चालन भइरहेका छन्। नेपालतर्फको उडान व्यवस्थाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले सम्बन्धित पक्षसँग छलफल गर्दै आएको जनाएको छ। इच्छुक नागरिकले हाल उपलब्ध उडान मार्गबाट यात्रा गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, पश्चिम एसियामा रहेका नेपाली नागरिकको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमार्फत ५७,१०० जनाले आफ्नो विवरण दर्ता गरिसकेको छ। प्राप्त विवरणको आधारमा आवश्यक कदम चालिने योजना रहेको मन्त्रालयले जनाएको छ।

परराष्ट्रले सो क्षेत्रको परिस्थिति नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै नेपाली नागरिकको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय तथा पहल जारी रहेको जनाएको छ।

मन्त्रालयले स्थानीय सरकार र नेपाली नियोगद्वारा जारी सूचना तथा सुरक्षा सावधानी पालन गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेको छ। साथै, कानुन विपरीत फोटो, भिडियो वा अडियो सामग्री तयार गर्ने वा आदानप्रदान गर्ने कार्य नगर्न पनि अनुरोध गरिएको छ।