निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले आफ्नो कल साइन ९एन–एजेओ रहेको एटिआर–७२ जहाजलाई पूर्ण उडान क्षमता पूरा भएपछि औपचारिक रूपमा बिदाइ गरेको छ।

विश्वमै पहिलो पटक एटिआर–७२ जहाजले तोकिएको अधिकतम उडान चक्र पूरा गरी सेवाबाट अवकाश लिएको कम्पनीले जनाएको छ।

एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२ हजार साइकल हो। यो एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न थियो। यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट–काठमाडौंसम्म गरिएको थियो। १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७७२ जना यात्रु बोकेको थियो।

बिदाइका अवसरमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले भने– ‘यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठूलो येगदान दियो। यसले बुद्ध एयरको बजार विस्तार तथा शाख बढाउन दुवैमा महत्त्वपूर्ण भूमिका खेलेको छ। हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौं।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक टेकनाथ सिटौलाले बुद्ध एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक बिदाइ गर्न सम्भव भएको बताए।

एटीआर कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट स्टेफानो माराज्जनीले बुद्ध एयरसँगको साझेदारीप्रति गहिरो खुशी व्यक्त गर्दै भने – ‘एटीआर कम्पनीले डिजाइन र निर्माण गरेको यो विमानलाई योग्य हात एवम् सही वातावरण तथा उत्कृष्ट प्राविधिक प्रणालीको साथमा अन्तिम उडानसम्म सुरक्षित रुपमा सेवा दिन सक्षम भयो। यसले बुद्ध एयरको उच्च सुरक्षा प्रतिबद्धता पुनः प्रमाणित गरेको छ।’

यसअघि बुद्ध एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि बिदाइ गरेको थियो। बुद्ध एयरले आन्तरिक रुपमा देशैभरि तथा पोखराबाट सिधा नेपालगञ्ज, भैरहवा र भरतपुरको उडान भरिरहेको छ। साथै अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसी तथा कोलकाता पनि उडान भरिरहेको छ।