नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको हालैको मूल्यवृद्धि पाएपछि सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग आग्रह गरेको छ।

नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रुपैयाँ मूल्य वृद्धिसहित नयाँ मूल्यहरू लागू गरेको जानकारी दिएको छ। महासंघका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा एकाएकको मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ पेट्रोलियम पदार्थको मूल्यमा हुने उतार–चढावसँगै भाडा स्वचालित प्रणालीमार्फत समायोजन हुँदै आएको भए पनि २०८१ सालको असोज २२ गतेदेखि भाडा हालसम्म समायोजित नभएको जनाइएको छ। यसको प्रभावले व्यवसायीहरूले सेवा सञ्चालनमा कठिनाइ भोग्नुपर्ने अवस्था आएको महासंघले जनाएको छ।

यातायात व्यवसायी महासंघले वैज्ञानिक विधिको आधारमा भाडा समायोजन गर्न र सवारी साधनसँग सम्बन्धित १३ सूचकको मूल्यांकन गर्दै संघीय रुट तथा सातै प्रदेशका रुटमा भाडा यथाशीघ्र समायोजन गर्न सरकारसँग माग गरेको छ।