विराटनगर । अन्तर्राष्ट्रिय स्तरमा चर्किएको भू(राजनीतिक तनाव र छिमेकी मुलुक भारतबाट हुने आपूर्तिमा देखिएको अवरोधका कारण नेपाली उद्योगहरू गम्भीर संकटमा पर्न थालेपछि विराटनगरका उद्योगी व्यवसायीहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। विशेषगरी अमेरिका र इरानबीचको द्वन्द्व तथा अन्य अन्तर्राष्ट्रिय प्रभावका कारण भारतबाट नेपालतर्फ आपूर्ति हुने ग्यास, प्लास्टिक, कार्बन, रबर लगायतका पेट्रोलियम पदार्थमा आधारित कच्चा पदार्थको आयात सीमित हुँदै गएपछि औद्योगिक क्षेत्रमा ठूलो हलचल पैदा भएको छ। कच्चा पदार्थको अभावमा उद्योगहरू जुनसुकै बेला बन्द हुन सक्ने जोखिम बढेको भन्दै विराटनगरको एक उद्योग वाणिज्य संघले उद्योग विभागलाई पत्र पठाउँदै तत्काल समस्या समाधानका लागि ठोस कदम चाल्न आग्रह गरेको छ। 


व्यवसायीहरूले पठाएको पत्रमा नेपालका अधिकांश उद्योगहरू भारत तथा तेस्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थमा शतप्रतिशत आधारित रहेको र हालको प्रतिकूल परिस्थितिले उत्पादन र सञ्चालनमा गम्भीर असर पारेको उल्लेख गरिएको छ। यस्तो असहज अवस्था निरन्तर रहिरहेमा उद्योगहरूलाई अस्थायी रूपमा बन्द गर्नुपर्ने बाध्यात्मक स्थिति आउने र त्यसले श्रमिकहरूको कार्य अवधि तथा जीविकोपार्जनमा समेत प्रत्यक्ष असर पार्ने निश्चित देखिएको छ। उद्योग क्षेत्र राष्ट्रको आर्थिक विकास, रोजगारी र राजस्वको मुख्य आधार भएको तथ्यलाई स्मरण गराउँदै व्यवसायीहरूले विद्यमान संकटलाई सम्बोधन गर्न सरकारसमक्ष तीन बुँदे विशेष माग अगाडि सारेका छन्।


व्यवसायीहरूको मुख्य मागमध्ये सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको श्रम नीतिमा परिमार्जनको विषय हो। यदि कच्चा पदार्थको अभावले उद्योग सञ्चालन गर्नै नसकिने गरी उत्पादन बन्द गर्नुपर्ने अवस्था आएमा, त्यहाँ कार्यरत कामदारहरूलाई ‘बेतलबी विदा’ ९ग्लउबष्म ीभबखभ० दिन सकिने गरी आवश्यक नीतिगत र कानुनी व्यवस्था मिलाउन उनीहरूले सरकारसँग जोडदार माग गरेका छन्। उद्योग ठप्प हुँदा समेत श्रमिकको पारिश्रमिक भार बेहोर्नु पर्दा उद्योगहरू पूर्ण रूपमा टाँट पल्टिने जोखिम रहेको भन्दै व्यवसायीले यस्तो विकल्प अगाडि सारेका हुन्। यसका साथै, भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गरी ग्यास, प्लास्टिक, कार्बन र रबर जस्ता अत्यावश्यक कच्चा पदार्थको निर्वाध आपूर्तिको सुनिश्चितता गर्न र भारत तथा तेस्रो मुलुकबाट हुने आयातमा देखिएका प्रशासनिक र कूटनीतिक अड्चनहरूलाई तत्काल हटाउन समेत आग्रह गरिएको छ।


संघले उद्योगको निरन्तर सञ्चालन र औद्योगिक वातावरणलाई स्थिर राख्नका लागि श्रम विभाग लगायतका सम्बन्धित सबै सरकारी निकायहरूसँग समन्वय गरी उचित पहल गरिदिन उद्योग विभागलाई अनुरोध गरेको छ। विराटनगरमा क्रियाशील चारवटा उद्योग वाणिज्य संघहरूमध्ये एकले उठाएको यो गम्भीर मुद्दालाई नेपाल उद्योग वाणिज्य महासंघमा समेत बोधार्थका रूपमा पठाइएको छ ताकि यसले राष्ट्रिय स्तरमै प्राथमिकता पाओस्। यदि सरकारले बेलैमा कच्चा पदार्थ आयातमा सहजीकरण र श्रम नीतिमा लचकता नअपनाए मुलुकको समग्र औद्योगिक उत्पादन घट्ने, राजस्वमा ह्रास आउने र ठूलो संख्यामा रोजगारी गुम्ने खतरा देखिएको छ। विराटनगरका उद्योगीहरूले सरकारको प्रतिक्रिया र भावी कदमलाई निकै चासोका साथ पर्खिरहेका छन्।