नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएका छन्।
नेविसंघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै पार्टी कार्यालय सानेपामा महामन्त्री घिमिरेले नेपालको इतिहासबाटै नेविसंघलाई अलग राखिदिने हो भने नेपालको इतिहास नै अधुरो र अपुरो हुने बताए।
मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थिति र निर्वाचनबाट नयाँ दलहरूको उदय भएको सन्दर्भमा नेविसंघको भूमिका अझ सशक्त र प्रभावकारी हुन आवश्यक रहेको उनको भनाइ छ। साथै, यसको ऐतिहासिक योगदानलाई कसैले पनि विस्मृतिमा धकेल्न नसक्ने उल्लेख गरे।
०२७ सालमा पञ्चायती कालरात्रिविरुद्ध विद्यार्थीलाई संगठित गरी प्रजातान्त्रिक आन्दोलनलाई सुदृढ बनाउन र प्रजातन्त्रको पुनर्स्र्थापना गर्न नेविसंघको स्थापना भएको उनले स्मरण गरे।
नेपालमा ४० वर्षमुनिका झन्डै एक करोड २० लाख युवा जनमत रहेको तथ्यलाई औँल्याउँदै कुनै पनि राजनीतिक दलले यो जनमतलाई उपेक्षा गर्नु मूर्खता हुने बताए।
“कुनै पनि दलको भ्रातृ संस्था रहने वा नरहने भन्नेकुरा पार्टीकै अधिकार क्षेत्रभित्रको कुरा हो। तर, संस्थाको हकमा पार्टीले दिएको आबद्धता, पार्टीको सन्तानजस्तै हो। नेपालको इतिहासबाटै नेपाल विद्यार्थी संघलाई अलग राखिदिने हो भने नेपालको इतिहास नै अधुरो र अपुरो हुन जान्छ। यसको ऐतिहासिक योगदानलाई कसैले पनि विस्मृतिमा धकेल्न सक्दैन,” उनले भने।
नेपाल तरुण दल, नेपाल महिला संघलगायत अन्य भ्रातृ संस्थाहरूका विषयमा पनि पार्टीले संस्थागत निर्णय गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।




















