विराटनगर। विश्व क्षयरोग दिवस २०२६ को अवसरमा नोबेल शिक्षण अस्पताल, विराटनगरमा क्षयरोग नियन्त्रण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको छ।
२०८२ साल चैत १० गते (मार्च २४, २०२६) आयोजित उक्त कार्यक्रम BNMT Nepal, BWSN, विराटनगर महानगरपालिका, स्वास्थ्य कार्यालय तथा अन्य विभिन्न सरकारी एवं गैरसरकारी संघ–संस्थाको सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रममा क्षयरोगको समयमै पहिचान, नियमित उपचार, रोकथामका उपाय तथा समाजमा विद्यमान भ्रम र विभेद हटाउने विषयमा सचेतनामूलक जानकारी प्रदान गरिएको थियो। साथै, क्षयरोग पूर्ण रूपमा निको हुने रोग भएकाले लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा परीक्षण तथा उपचार गराउन सहभागीहरूलाई आग्रह गरिएको थियो।
यस वर्षको विश्व क्षयरोग दिवसको मूल नारा "Yes! We Can End TB" लाई आत्मसात गर्दै सरोकारवाला निकायहरूले क्षयरोगमुक्त समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
नोबेल शिक्षण अस्पतालले यस्ता जनचेतनामूलक कार्यक्रममार्फत समुदायमा स्वास्थ्य शिक्षा प्रवाह गर्दै समयमै रोग पहिचान, उपचार र रोकथाममा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता दोहोराएको छ। साथै, सबै नागरिकलाई क्षयरोगविरुद्धको अभियानमा सहभागी भई स्वस्थ र क्षयरोगमुक्त समाज निर्माणमा हातेमालो गर्न आह्वान गरिएको छ।




















