श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ विकासका एजेन्डा लिएर सिंहदरबार पुगेका छन्। उनले शुक्रबार गृहमन्त्री सुधन गुरुङसहित विभिन्न विभागीय मन्त्रीहरूलाई भेट्ने कार्यतालिका रहेको छ।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएलगत्तै साम्पाङले सामाजिक सञ्जालमार्फत अब आफू विकासका माग लिएर प्रधानमन्त्री र मन्त्रीहरूकहाँ जाने बताएका थिए। उनले फेसबुकमा लेखेका छन्, ‘हिजो औपचारिक र विधिवत् सदनको पहिलो बैठक सम्पन्न भयो। नेपाल सरकार लगायत सबैलाई धन्यवाद १ अब जनताका विकासका मागहरू लिएर प्रधानमन्त्रीज्यू र विभागीय मन्त्रीज्यूहरूलाई भेट्न जानुपर्नेछ।’

बिहान ११:४५ बजे जाँदा साम्पाङले गृहमन्त्री गुरुङसँग भेट गर्ने कार्यतालिका रहेको छ।

प्रतिनिधिसभाको पहिलो बैठकमै साम्पाङले विभिन्न समसामयिक र राष्ट्रिय मुद्दाहरू उठाएका थिए। उनले सीमा क्षेत्रमा छिमेकी मुलुकको गतिविधिमाथि निगरानी बढाउनुपर्ने र भदौ २३–२४ को घटनाका दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने लगायतका दर्जनभन्दा बढी माग राखेका छन्।

सिंहदरबारमा हुने भेटघाटका क्रममा उनले आफ्नो निर्वाचन क्षेत्रका विकास योजना र संसद्मा उठाएका मागहरूका विषयमा मन्त्रीको ध्यानाकर्षण गराउने बुझिएको छ।