युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृखंला खेल्ने नेपाली टोलीको घोषणा भएको छ। 

शुक्रबार शृखंलाका निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिममा मुख्य प्रशिक्षक स्टुवर्ट लले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १८ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन्। तीन क्रिकेटर भने ‘रिजर्भ’ खेलाडीका रूपमा छन्। 

नेपालले सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा यूएईसँग टी–२० आई शृंखला खेल्ने तालिका छ। यी दुवै खेल फ्लडलाइटमा हुनेछन्। 

टोलीमा कुशल मल्ल र अर्जुन साउद पुनः राष्ट्रिय टोलीमा फर्किएका छन्। टी–२० विश्वकप एसिया छनोटमा खेलेयता कुशल टोलीमा परेका थिएनन्। त्यसैगरी, अर्जुन सन् २०२२ पछि टिमबाहिर छन्। 

त्यसबाहेक, सन्तोष यादव र हेमन्त धामीले पनि टिममा मौका पाएका छन्। एकदिवसीयका कप्तान रोहित पौडेल भने टिममा परेका छैनन्।