बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाको सिमानामा पर्ने चिसाङ्ग खोलाबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरण कार्यमा रोक लगाइएको छ ।

दुवै स्थानीय तहका प्रतिनिधिहरूको वैशाख ९ गते बसेको अन्तरपालिका संयुक्त बैठकले  उक्त क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको कारोबारमा रोक लगाइएको हो ।

बिहीबार बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले  सूचना जारी गर्दै आगामी भोलि  वैशाख ११  शुक्रबार देखि  वैशाख २१ गतेसम्मका लागि उत्खनन तथा बिक्री वितरण सम्बन्धी सम्पूर्ण कार्य स्थगित तथा सूचनामा  "चिसाङ्ग खोलामा हुने सबै प्रकारका उत्खनन, सङ्कलन तथा बिक्री वितरण कार्य हाललाई अर्को सूचना प्रकाशन नभएसम्मका लागि रोक लगाइएको छ । सो अवधिमा कसैले पनि नियम विपरीत कार्य नगर्न/नगराउन हुन अनुरोध गरिएको छ।  

स्थानीय सरकारले तोकेको यो समयावधिभित्र कसैले उत्खनन वा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ । यो निर्णयसँगै निर्माणमुखी नदीजन्य पदार्थको ओसारपसारमा संलग्न व्यवसायी र सरोकारवालाहरूलाई सचेत रहन आग्रह गरिएको छ ।