नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। ओलीले यही जेठ २० र २१ गते हुने पार्टीको राष्ट्रिय कार्यशाला उद्घाटन गर्ने एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

“सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम तय भएको छ,” उनले भने। 

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरिने कार्यशाला बिहान ११ बजे सुरु हुनेछ। पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका निम्ति कार्यशाला आयोजना गर्न लागिएको एमालेले जनाएको छ। 

कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू (भारत प्रवास समेत),  पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूका साथै जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहनेछ।

कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजनाबारे गहन छलफल तथा उत्प्रेरणामूलक अभिमुखीकरण गरिने आचार्यले बताए।