सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले आउँदो आर्थिक वर्षको बजेटप्रति कति नागरिक खुसी छन् ? भनेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रश्न गरेका छन्। बिहीबार (जेठ २८) प्रतिनिधिसभा बैठकमा छलफलका क्रममा उनले सार्वजनिक विद्यालय बलियो बनाउने विषय बजेटमा नभेटिएको पनि बताए। 

उनले सातै प्रदेशमा काठमाडौंको बूढानीलकण्ठजस्तो आवासीय स्कुल बन्ने अपेक्षा गरेकामा बजेटमा त्यस्तो व्यवस्था हुन नसकेको बताए।

सांसद सिंहले बजेटबाट गरिबले के पायो? भनेर पनि सोधे। “जनताको घरदैलोमा गइराख्नुपर्छ। गरिबको भान्समा देखिनुपर्छ। कर्मचारीले त २१ प्रतिशत पायो,” उनले भने, “गरिबले के पायो ? तीन करोड जनसंख्यामा कर्मचारी कति छन्?”

उनले आफ्नो चिन्ता मुसहर, चेपाङ बस्तीमा रहेको बताए। बजेट कार्यान्वयन हुनेमा आफूलाई विश्वास नरहेको उनले उल्लेख गरे।

“साउथ एसियामा आजसम्म कुनै देश नै छैन कि जहाँ जीडीपीको ३२/३३ प्रतिशत बजेट बनाइन्छ । यो आफैँमा फुकेको ठूलो बेलुन हो,” उनले भने, “फुकेको बेलुन लामो समय टिक्न सक्दैन । यो बजेट कार्यान्वयन हुन्छ, मलाई विश्वास छैन, अरूलाई विश्वास होला ।”