प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(हर्क साम्पाङ) ले संसद्‍मा रक्षामन्त्री खोजेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा राईले सुस्तामा भारतीय एसएसबीले नेपाली नागरिकलाई दु:ख दिएको उल्लेख गर्दै रक्षामन्त्रीको जवाफ मागेका हुन् । 

चैत १३ गते प्रधानमन्त्री बनेका वालेन्द्र शाहले त्यही दिनदेखि रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् । अध्यक्ष राईले संसद्‍मा प्रधानमन्त्री शाह नआउने उल्लेख गर्दै रक्षामन्त्रीलाई बोलाइदिन सभामुख डोलप्रसाद अर्याललाई आग्रह गरेका हुन्। 

'प्रधानमन्त्रीज्युले सीमाबारे विवादित अभिव्यक्ति दिएपछि प्लेकार्ड लिएर उभिँदै गरेको आज ११ दिन भएछ । ११औं दिनमा पनि उहाँको आउने छाँटकाँट देखिँदैन । म एउटा प्रश्न राख्न चाहन्छु - नेपाल सरकारको रक्षामन्त्री अहिले को हुनुहुन्छ ? रक्षामन्त्रीलाई बोलाइदिन तपाईंलाई आग्रह गर्छु,' राईले भने । 

त्यस्तै सुस्ताको पछिल्लो अवस्थाबारे पनि रक्षामन्त्रीलाई उनले प्रश्न गर्न चाहेको बताए । 'उहाँलाई म प्रश्न सोध्न चाहन्छु, सुस्तामा भारतीय पक्षको एसएसबी आएर नेपाली दाजुभाइलाई हप्कीदप्की गर्दै गरेको र नेपाली दाजुभाइ चाहिँ आफ्नो भूमिका लागि निहत्था लड्दै भिड्दै गरेको अवस्थाको भिडियोहरू सार्वजनिक भएका छन् । त्यसतर्फ नेपाल सरकारले, रक्षामन्त्रीले जवाफ दिनुपर्‍यो । प्रधानमन्त्रीज्यु त आउनुहुन्न । रक्षामन्त्री हुनुहुन्छ भने खोजेर तपाईंले ल्याइदिनुपर्‍यो,' उनले भने । 

त्यस्तै नेपाली सीमा क्षेत्रमा किन सेना नगएको भन्दै उनले प्रश्नसमेत गरे । 'म यहाँ प्रश्न सोध्न चाहन्छु उहाँलाई । हाम्रो नेपाली सेनाचाहिँ सिमानामा जानै नहुने के कसम खाएर बसेको रहेछ ? सिमानामा चिहाउन र अवलोकन गर्न पनि नजाने केचाहिँ करार गरेको रहेछ ? कि त त्यो करारपत्र वा सन्धि यहाँ देखाइदिनुपर्‍यो । सार्वभौम संसद् जान्न चाहन्छ,' उनले भने।