राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापकीय अव्यवस्था र शिक्षण अस्पतालको कमजोर अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। 

उनले विश्वविद्यालयको संरचना तथा शिक्षण अस्पतालमा देखिएको बेथितिले कोसी प्रदेश मात्र नभई समग्र देशकै स्वास्थ्य क्षेत्रलाई लज्जित बनाएको बताएका हुन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको वास्तविक केन्द्र कहाँ रहेको भन्ने विषयमै अन्योल रहेको टिप्पणी गरे। “पूर्वाञ्चल विश्वविद्यालय कहाँ छ? गोठगाउँमा छ कि विराटनगरमा छ? हेरेर थाहा पाउन गाह्रो भइरहेको छ,” उनले भने। 

उनले विश्वविद्यालयका विभिन्न डिन कार्यालय र परीक्षा व्यवस्थापन कार्यालय अझै पनि विराटनगरबाट सञ्चालन भइरहेको उल्लेख गर्दै प्रशासनिक संरचनामा एकरूपता नदेखिएको बताए। 

कार्कीले विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालको अवस्था पनि चिन्ताजनक रहेको बताए। स्थानीयले अस्पतालमा डाक्टर नआउने र नबस्ने गुनासो सुनाए। 

डाक्टरहरूले भने आईसीयू र भेन्टिलेटरलगायत आवश्यक पूर्वाधारको अभाव रहेको बताउने गरेको उनको भनाइ छ।“यो केवल आर्थिक अवस्थाका कारणले मात्र भएको होइन,” उनले भने, “अस्पतालमा काम गर्ने डाक्टरको हाजिर गर्ने ठाउँ डिनको कार्यालयमा छ। अगेनो एकापट्टी छ, हन्बेर्नो अर्कोपट्टी छ।” 

सांसद कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको बेथिति मोरङ क्षेत्र नम्बर ३ र ४ को मात्र नभइ समग्र नेपालकै लागि चिन्ता र लाजको विषय भएको बताए। उनले विश्वविद्यालय र शिक्षण अस्पतालको सुधारका लागि सरकारको गम्भीर ध्यान जानुपर्नेमा जोड दिए। “अबको सरकारले यस विषयमा ध्यान दिनेछ भन्ने आशा र विश्वास लिएको छु,” उनले भने।