बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरमा शनिवार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवलदारको मृत्यु भएको छ। दुर्घटनामा एक जना सशस्त्र प्रहरी जवान र ट्रक चालक घाइते भएका छन्।
मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका–५ मोतीपुर बस्ने अन्दाजी ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवलदार तिलक कँडेल रहेका छन्। फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत कँडेलको उपचारको क्रममा मृत्यु भएको हो।
आज बिहान अवैध रूपमा भारततर्फ लैजान लागिएका २ वटा भैँसी र १ वटा पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सडक खण्डको लालपुरमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा बर्दिया बासगढी नगरपालिका–८ ककौरा घर भएका अन्दाजी ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपक कुमार जङ शाह घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, बाँके रिफर गरिएको छ।
यस्तै ट्रक चालक मकवानपुर बागमती गाउँपालिका–५ समरी बस्ने अन्दाजी ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते भएका छन्। उनको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ।




















