नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीभित्रको आन्तरिक कलह र नेतृत्वको कमजोरीका कारण कांग्रेसले आफ्नो साख गुमाउँदै गएको बताएका छन्।
विराटनगरमा आयोजित पार्टी इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले अब पार्टीलाई बचाउन ‘बृहत एकता’ को विकल्प नभएको बताए।
‘८९ सिट भएको कांग्रेस अहिले यस्तो अवस्थामा पुग्यो कि सर्वदलीय बैठक समेत रास्वपाले बोलाउनुपर्ने भयो। यो कांग्रेसका लागि अत्यन्तै शर्मनाक अवस्था हो,’ कांग्रेस नेतृत्वलाई प्रश्न गर्दै उनले भने, ‘अहिले कांग्रेसको अवस्था कफी गफ गर्ने बेला हो कि गम्भीर भएर एकताको संवाद गर्ने बेला हो ? टेलिभिजनमा बोल्ने र सार्वजनिक अभिव्यक्ति दिने तर सार्थक छलफल नगर्ने प्रवृत्तिले पार्टी चल्दैन।’
आगामी १५ औं महाधिवेशनलाई लक्षित गर्दै सबैको सहभागिता सुनिश्चित हुने गरी ‘बृहत एकताको महाधिवेशन’ गर्नुपर्नेमा जोड दिए।
‘हामीलाई विभाजित कांग्रेस होइन, एकताबद्ध र बलियो कांग्रेस चाहिएको छ,’ उनले भने।




















