बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने ‘बिर्तामोड रोजगार मेला’ मार्फत एक सय ६४ जना बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन् ।
रोजगारदाता र रोजगार खोज्ने व्यक्तिबीच प्रत्यक्ष समन्वय गराउने उद्देश्यले सञ्चालन गरिएको मेलामा एक हजारभन्दा बढी आवेदकलाई आगामी दिनमा थप रोजगारीका अवसरसँग जोड्न पहल गरिने भएको छ।
बिर्तामोड उद्योग वाणिज्य संघसँगको सहकार्यमा बिर्तामोडस्थित अतिथि सदनमा शनिबारदेखि सञ्चालन भएको रोजगार मेलाको समापन समारोहमा मेलाका सहजकर्ता पाथवे नेपालका सेवक बजगाईले उक्त जानकारी दिनुभएको हो।
उहाँका अनुसार मेलाको अवधिभर दुई हजार आठ सय ७१ जनाले अवलोकन गरेका थिए। विभिन्न क्षेत्रका रोजगारदाता संस्थामा काम गर्न इच्छुक एक हजार ७६ जनाले आवेदन दिएका छन्। तीमध्ये प्रारम्भिक चरणमै एक सय ६४ जनाले रोजगारी प्राप्त गरेका छन् भने बाँकी आवेदकलाई उनीहरूको योग्यता र सीपअनुसार उपयुक्त रोजगारीमा आबद्ध गराउन सम्बन्धित रोजगारदाता संस्थासँग समन्वय र सहजीकरणको प्रक्रिया अगाडि बढाइने जनाइएको छ।
मेलामा विभिन्न क्षेत्रका २५ वटा रोजगारदाता संघ–संस्थाले सहभागिता जनाएका थिए। ती संस्थाले आफ्ना आवश्यकताअनुसार जनशक्ति माग गर्दै प्रत्यक्ष अन्तर्वार्ता तथा परामर्शसमेत प्रदान गरेका थिए। रोजगारको खोजीमा रहेका युवाले आफूलाई उपयुक्त रोजगारीको अवसरबारे जानकारी लिनुका साथै आवेदन दिने अवसर प्राप्त गरेका थिए।
समापन समारोहलाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँले रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने माध्यमका रूपमा रोजगार मेला प्रभावकारी बनेको बताउनुभयो।
उहाँले मेलामा सहभागी रोजगारदाता संस्था, उद्योगी तथा व्यवसायीप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। ‘रोजगार सिर्जना अहिलेको प्रमुख आवश्यकता हो। नगरपालिकाले आफ्नो क्षेत्रभित्र उपलब्ध अवसरको पहिचान गर्दै युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने प्रयासलाई निरन्तरता दिनेछ,’ उहाँले भन्नुभयो।
नगरप्रमुख प्रसाईँले मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहे पनि क्रमशः सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। छोटो समयको तयारीका बाबजुद पनि रोजगार मेलाले अपेक्षाकृत सफलता हासिल गरेको उल्लेख गर्दै उहाँले यसलाई नगरपालिकाको महत्वपूर्ण कार्यक्रमका रूपमा विकास गरिने धारणा राख्नुभयो।
त्यसैगरी, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष निर्मल भट्टराईले मेलामार्फत आवेदन दिएका बेरोजगार युवालाई विभिन्न व्यावसायिक प्रतिष्ठानसँग समन्वय गरी रोजगारी उपलब्ध गराउन संघले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले रोजगार मेलाले सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै स्थानीय तहको बजेट तथा कार्यक्रममा यस्ता गतिविधिलाई प्राथमिकताका साथ समावेश गर्न नगरपालिकासँग आग्रह गर्नुभयो। ‘युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन सकिए वैदेशिक पलायन न्यूनीकरणमा समेत सहयोग पुग्नेछ,’ उहाँले बताउनुभयो।
कार्यक्रमका अध्यक्ष तथा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले नगरपालिकाले पहिलो पटक रोजगार मेलाको आयोजना गरेको जानकारी दिँदै प्राप्त अनुभवका आधारमा आगामी दिनमा यसलाई अझ व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाइने बताउनुभयो।
उहाँले स्थानीय तहको दायित्व केवल पूर्वाधार निर्माणमा मात्र सीमित नरही नागरिकको आर्थिक सशक्तीकरण र रोजगारी प्रवद्र्धनमा समेत केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यलाई थप विस्तार गर्दै स्थानीय स्तरमै रोजगारका अवसर सिर्जना गर्ने योजनामा काम गरिरहेको उहाँको भनाइ थियो।
रोजगार मेलाको दुवै दिन उद्योगी तथा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। अन्तरक्रियामा स्थानीय श्रम बजारको अवस्था, दक्ष जनशक्तिको आवश्यकता, सीप विकास तथा रोजगार प्रवद्र्धनका विषयमा छलफल भएको जनाइएको छ।
स्थानीय युवालाई रोजगारका अवसरसँग जोड्ने उद्देश्यले आयोजना गरिएको यो मेला बिर्तामोड नगरपालिकाको पहिलो प्रयास भए पनि यसले सकारात्मक नतिजा दिएको सरोकारवालाले बताएका छन्। रोजगार खोज्ने युवा र रोजगारदाता संस्थालाई एउटै थलोमा ल्याएर प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्न सफल भएको भन्दै सहभागीले आगामी वर्षहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।




















