झापाको बिर्तामोड नगरपालिका–५ स्थित सुकुम्बासी लाइनमा पानीको तीव्र बहावका कारण एक तीनतले पक्की घर कोल्टिएको छ।

आइतबार बिहानको राती करिब २ः३० बजे सुगम पैनीमा आएको पानीको बहावले स्थानीय पहलमान ठाकुरको तीनतले पक्की घरको जग बगाएपछि घर कोल्टिएको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घरमा रहेका सदस्यहरूलाई तत्काल सुरक्षित स्थानमा सारेको थियो। घर कोल्टिए पनि घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

निरन्तर वर्षासँगै आएको पानीले घरको आधार कमजोर बनाएपछि भवन एकातर्फ ढल्किएको स्थानीयले बताएका छन्। हाल उक्त घर थप जोखिममा रहेकाले आसपासका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।

प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।