पूर्वप्रधानमन्त्री एवं कम्युनिस्ट नेता डा. बाबुराम भट्टराईले संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेलसम्म सुशासन र विकासमा केन्द्रित हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “नदुखेको कपाल डोरी लगाएर दुखाउनुको सट्टा संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल चुपचाप ‘सुशासन र विकास’तिरै केन्द्रित हुनु बुद्धिमानी हुनेछ।”
रास्वपाले प्रदेशसभा खारेज गर्ने र क्रमशः संघीयता भत्काउने तयारी गरेको भए त्यो ठूलो भुल हुने उनको भनाइ छ।
“पहिलो त विधिको हिसाबले एकातिर आफ्नै नेतृत्वको सकारले ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अरूमाथि लाद्ने हो भने दलहरू, विभिन्न जातिहरू र आम जनसमुदाय बीचमा ठूलो विश्वासको संकट पैदा हुनेछ र त्यसले देशलाई अनिष्टतिर धकेल्न सक्छ,” भट्टराईले लेखेका छन्।
उनले अगाडि लेखेका छन्, “दोस्रो, हाम्रो जस्तो जातीयरराष्ट्रिय र क्षेत्रीय विविधतायुक्त मुलुकमा लामो बलिदानीपूर्ण संघर्षपछि निर्वाचित संविधानसभाबाट अधिकतम सहमतिसहित गरिएको पुरानो एकात्मक राज्यको संघीय पुनर्संचना जानेर नजानेर भत्काइयो भने त्यसले गम्भीर जातीय–क्षेत्रीय द्वन्द्व र अशान्ति सिर्जना गर्नेछ, जुन कसैको पनि हितमा हुने छैन।”




















