उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित उदयपुर–सुनसरी जोड्ने सप्तकोशी पुलबाट नदीमा हाम फालेका धरानका सरोज श्रेष्ठको शव फेला परेको छ।

प्रहरीका अनुसार धरान उपमहानगरपालिका–५ झरना चोकका ४२ वर्षीय सरोज श्रेष्ठले बुधबार बिहान करिब ८ बजे पुलमाथि साइकल, चप्पल र मोबाइल फोन छाडेर सप्तकोशी नदीमा हाम फालेको सूचना प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन बेस चतरा, सुरक्षा बेस रामपुर तथा नेपाल प्रहरीका विभिन्न इकाइबाट संयुक्त टोली परिचालन गरिएको थियो।

रबर डुंगासहित खटिएको २४ सदस्यीय संयुक्त टोलीले बिहानदेखि कोशी पुल, कोशी कटान, बोराबाँध र सिसौलीघाट आसपासका क्षेत्रमा व्यापक खोजतलास गरेको थियो। खोजीका क्रममा साँझ करिब ६ बजे घटनास्थलदेखि करिब १० किलोमिटर दक्षिण बेलका–८ सिसौलीघाट पारिको कोशी नदीको बीच भागमा शव तैरिरहेको अवस्थामा फेला परेको थियो। 

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि राति ९ः५० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको प्रहरीले जनाएको छ।