नेपाली कम्युनिस्ट पाटी (नेकपा) ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न महाधिवेशनबाट पारित दस्ताबेजहरूले लोकतन्त्र र गणतन्त्रको आधारभूत संरचनालाई नै कमजोर बनाउन खोजेको बताएको छ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले आइतबार प्रतिनिधिसभा बैठकमा लोकप्रियताको आवरणमा आएका केही विचारले देशलाई पुनः द्वन्द्वतिर धकेल्न सक्ने चेतावनी दिए। चितवनको सौराहामा पहिलो महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा रास्वपा र सभापति रवि लामिछानेलाई बधाई दिँदै दुलालले सो पार्टीको नीति र नियतमाथि प्रश्न उठाए।
‘लोकप्रियताको घुम्टोले छोपिएर आएको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई ‘सेबोटेज’ गर्न खोज्दैछ, यसमा हामी सचेत हुनुपर्छ,’ उनले भने। सांसद दुलालले निर्वाचनका क्रममा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँछु भनेर मत माग्ने र जितेपछि तिनै संरचना खारेजीको नीति लिनु जनताप्रति बेइमानी भएको बताए। उनले भने, ‘प्रदेशको उपस्थिति बिना सङ्घीयता रहँदैन भन्ने आधारभूत ज्ञान नहुनेले राजनीति पढेर मात्र राजनीति गर्न आउनुस्।’
सरकारले प्रशासनिक खर्च कटौती र संरचना खारेजीको कुरा गरे पनि व्यवहारमा मन्त्रालयहरूमा सचिवस्तरका सल्लाहकारहरूको भिड जम्मा गरेर खर्च बढाइरहेको उनले आरोप लगाए। ‘एकातिर मितव्ययिताको मीठो भाषण दिने, अर्कोतिर इतिहासमै नभएको गरी सल्लाहकार नियुक्ति गरेर राज्यकोष दोहन गर्ने,’ भन्दै उनले सरकारको आलोचना गरे।




















