पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले भावनाले मात्र कम्युनिस्ट एकता हुन नसक्ने बताएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वर्तमानको धरातलमा टेकेर यसबारे बहस चलाइनुपर्नेमा जोड दिए।

“भावनाको कुरा गरेर मात्रै हुँदैन। मदन भण्डारी भन्नुहुन्थ्यो– कुराले चिउरो भिज्नेवाला छैन। कुरो मात्रै गरेर केही हुनेवाला छैन। चिउरा भिजाउन कि दही कि दूध चाहिन्छ। त्यसो हुनाले पनि अहिलेको यथार्थताको धरातलमा टेकेर,” उनले भने, “सही ठाउँमा पुगेर, व्यापक छलफल बहस चलाएर मिल्न सक्ने कुरामा मिलेर अघि बढ्नुपदर्छ।”

उनले एकताका विषयमा जवाफ दिँदादिँदा आफू दिक्क भइसकेको सुनाए। “अहिले चर्चामा आउने गरेको छ, कम्युनिस्ट पार्टी आजै मिले, भोलि मिले, बिहानबेलुकै मिले,” उनले भने, “यो प्रश्नको जवाफ दिँदा त मेरो पनि दिमाग खराब भइसकेको छ। म त्यस्तो देखिरहेको छैन।”

नेता नेपालले राष्ट्रियताका सवालमा ठूलो चुनौती देखिएको धारणा राखे। उनले देश द्वन्द्न्वको भुमरीमा पर्न सक्ने सम्भावना देखिएको बताए।

“विदेशीले देशमा हालीमुहाली नचलाऊन्, राष्ट्रिय हितमा कुठाराघात नगरून्, छिमेकीका गतिविधिको केन्द्र नेपाललाई नबनाऊन् भन्नेमा सतर्क हुनुपर्छ,” उनले भने, “वर्तमान सरकारको रबैया शंकास्पद छ।”