काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यसहित ‘फेसलेस ट्राफिक व्यवस्थापन प्रणाली’ परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ। प्रारम्भिक चरणमा यो प्रणाली थापाथली क्षेत्रमा लागू गरिएको हो।
नयाँ प्रणालीअन्तर्गत अब सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थिति विना नै कृत्रिम बुद्धिमत्ता ९एआई०, सीसीटीभी क्यामेरा तथा स्मार्ट ट्राफिक लाइटमार्फत सवारी साधनको निगरानी गरिनेछ। उच्च गुणस्तरका क्यामेराले सडक गतिविधि निरन्तर रेकर्ड गर्नेछन् भने रेड लाइट उल्लंघन, लेन मिच्ने तथा तीव्र गतिमा सवारी चलाउनेजस्ता गतिविधि स्वतः पहिचान हुने व्यवस्था गरिएको छ।
यसअघि ट्राफिक प्रहरीले सडकमै सवारी रोकेर कारबाही गर्ने अभ्यास रहेकामा अब भने केन्द्रीय नियन्त्रण कक्षबाटै निगरानी र कारबाही प्रक्रिया सञ्चालन गरिनेछ। नियम उल्लंघन पुष्टि भएपछि सम्बन्धित सवारीधनीको विवरणका आधारमा ई–चलान स्वतः जारी गरिने व्यवस्था मिलाइएको छ। जरिवाना तथा सूचना सिधै सवारीधनीसम्म पुग्ने भएकाले कारबाही प्रक्रिया थप पारदर्शी र छिटो हुने अपेक्षा गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार परीक्षण चरणमा यो प्रणाली थापाथलीसहित बानेश्वर–माइतीघरजस्ता अत्यधिक भीडभाड हुने क्षेत्रमा सञ्चालन गरिनेछ।
प्रविधिमा आधारित यो प्रणालीमार्फत ट्राफिक जाम न्यूनीकरण, सडक अनुशासन कायम, प्रत्यक्ष विवाद कम गर्ने तथा घुसजस्ता गतिविधि नियन्त्रण गर्ने लक्ष्य राखिएको छ।
यस प्रणाली पूर्णरूपमा प्रभावकारी बनेपछि चालकहरूले सवारी दर्ता विवरण, मोबाइल नम्बर तथा सम्पर्क जानकारी अद्यावधिक राख्नुपर्ने आवश्यकता अझ बढ्ने देखिएको छ। अन्यथा ई–चलानसम्बन्धी सूचना प्राप्त गर्न कठिनाइ हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौंको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित र स्मार्ट बनाउने दिशामा यो कदमलाई महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।




















