श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले आफनो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन्। 

दार्चुलाको दुर्गम गाउँमा झोलुंगे पुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन्। उनले सरकारले केही गर्ने कोसिस गरे पनि जनताले महसुस हुनेगरी परिणाम दिन नसकेको दाबी गरे। 

उनले महंगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराए। सरकारले सय दिनमा गरेका कामहरूको जनताले महसुस गरेजस्तो आफ्नो अनुभूति नरहेको उनको भनाइ छ। 

'कोसिस उहाँहरूले गर्नुभएको हो। तर रिजल्ट चाहिँ जनतालाई त्यति महसुस भएको छैन। रिजल्ट भएको महसुस हुनुपर्दछ। महंगीहरू धेरै भयो। अब महंगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो,' उनले भने। 

सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटाएको भन्दै सरकारको उक्त निर्णयको समर्थन गरे।