बेलबारी, मोरङ। जिल्ला प्रहरी कार्यालय मोरङको आयोजना तथा इलाका प्रहरी कार्यालय बेलबारीको सहकार्यमा बेलबारी नगरपालिकाको सभाहलमा नागरिक–प्रहरी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र नागरिकमैत्री प्रहरी सेवाका विषयमा आफ्ना प्राथमिकता सार्वजनिक गर्नुभएको छ।
आयोजित कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले स्थानीय सुरक्षा, लागुऔषध, ट्राफिक व्यवस्थापन, साइबर अपराध तथा महिला सुरक्षासम्बन्धी जिज्ञासा र गुनासाहरू राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै एसपी कटवालले सार्वजनिक सुनुवाइ प्रहरीले आफ्नो सेवा र कार्यसम्पादनको समीक्षा गर्ने प्रभावकारी माध्यम भएको बताउनुभयो। नागरिकबाट प्राप्त सुझाव र गुनासालाई सुधारको अवसरका रूपमा लिँदै प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाइने उहाँले बताउनुभयो।
स्थानीयले उठाएका सुरक्षा चुनौतीलाई सम्बोधन गर्दै उहाँले गल्ली, बस्ती, पुलमुनि, बाँसघारी तथा अन्य जोखिमयुक्त स्थानमा प्रहरी गस्ती बढाइने जानकारी दिनुभयो। अपराध न्यूनीकरणका लागि नियमित पेट्रोलिङलाई थप प्रभावकारी बनाइने उहाँको भनाइ थियो।
एसपी कटवालले पछिल्लो समय बढ्दो साइबर अपराधप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्नुभयो। ओटीपी स्क्याम, सामाजिक सञ्जालमार्फत हुने ठगी तथा डिजिटल अपराधबाट बच्न नागरिकलाई सचेत रहन आग्रह गर्दै व्यक्तिगत बैंकिङ तथा डिजिटल विवरण कसैसँग पनि साझा नगर्न सुझाव दिनुभयो। नेपाल प्रहरीले आधुनिक प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमार्फत अनुसन्धानलाई प्रभावकारी बनाउँदै लगेको उहाँले जानकारी दिनुभयो।
लागुऔषध नियन्त्रणलाई मोरङ प्रहरीको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै उहाँले लागुऔषधविरुद्ध विशेष महाअभियान सञ्चालन भइरहेको बताउनुभयो। लागुऔषध सेवनकर्तालाई उपचार र पुनःस्थापनाको आवश्यकता पर्ने भए पनि यसको कारोबारमा संलग्न व्यक्तिलाई कडा कानुनी कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो।
ट्राफिक व्यवस्थापनका विषयमा बोल्दै एसपी कटवालले तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा अनुमतिपत्र विना सवारी चलाउने प्रवृत्तिविरुद्ध कडाइ गरिने बताउनुभयो। सडक दुर्घटनाको प्रमुख कारण मानवीय लापरबाही भएकाले ट्राफिक नियमको पूर्ण पालना गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो।
महिला तथा बालबालिकाको सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै उहाँले 'मौनता तोडौँ' अभियानमार्फत घरेलु हिंसा तथा लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाइरहेको बताउनुभयो। पीडितलाई घटना लुकाएर नराखी प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो।
समाजमा दादागिरी, गुण्डागर्दी तथा आपराधिक गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको बताउँदै एसपी कटवालले नागरिकको सहयोगबिना अपराध नियन्त्रण सम्भव नहुने उल्लेख गर्नुभयो। कुनै पनि आपराधिक गतिविधिको सूचना निर्धक्क भएर प्रहरीलाई उपलब्ध गराउन आग्रह गर्दै सूचना दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने उहाँले विश्वास दिलाउनुभयो।
कार्यक्रममा अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन सार्वजनिक स्थल तथा व्यापारिक प्रतिष्ठानमा गुणस्तरीय सिसिटिभी क्यामेरा विस्तार गर्न स्थानीय तह, उद्योगी–व्यवसायी र समुदायसँग सहकार्य गरिने विषयमा पनि छलफल भएको थियो।
कार्यक्रमको समापन गर्दै एसपी कटवालले नागरिक र प्रहरीबीचको विश्वास तथा सहकार्य बलियो भए मात्र सुरक्षित, शान्त र अपराधमुक्त समाज निर्माण सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले प्रहरीलाई 'सज्जनको भरोसा र अपराधीको डर' बनाउने लक्ष्यसहित जनउत्तरदायी र प्रविधिमैत्री सेवा प्रवाहमा आफू प्रतिबद्ध रहेको दोहोर्याउनुभयो।




















