राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ दिन नसक्दा आफूहरूले लाचार महसुस गर्नुपरेको बताएकी छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानका पीडा सुनेर सरकारको मन किन दुख्दैन भन्दै प्रश्न गरेकी हुन्।
किसानले मल मिलाइदिन आग्रह गरिरहने तर सरकारले गोदाममा मल छ भनिरहने गरेको उल्लेख गर्दै उनले किसानको आँसुको व्यापार नगर्न सरकारलाई सचेत गराइन्। बैठकमा बोल्दै सांसद कठरियाले भनिन्, ‘हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानहरूको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन सभामुख महोदय? हाम्रा अन्नदाताहरू भनिरहेका छन् बरु ज्वरो सहौँला, रोग सहौँला तर भोक र खेतको खडेरी सहँदैनौँ। जति मूल्य पनि तिर्न तयार छौँ तर मल मिलाइदेऊ सरकार।’
उनले सरकार र किसानबिचको विरोधाभासपूर्ण अवस्थाबारे थपिन्, ‘सरकार भन्छ गोदाममा मल छ तर किसान सोच्छन् त्यो मल खेतमा किन छैनरु यो त किसानको आँसुको व्यापार गरेको जस्तो भयो। मल समेत दिन नसक्ने तिमीहरूलाई जिताएर के भयो भन्दै किसानहरूले दैनिक सयौँ फोन गर्दा पीडा भइरहेको छ।’
सांसद कठरियाले किसानलाई चाहिने न्यूनतम मल र बीउ समेत उपलब्ध गराउन नसक्दा जनप्रतिनिधिको रूपमा आफूहरूले लाचार महसुस गर्नुपरेको बताइन्। उनले सरकारले तत्काल अन्नदाता किसानहरूसँग क्षमा याचना गर्नुपर्ने, सत्य तथ्य बाहिर ल्याएर विकल्प र राहत प्रस्तुत गर्नुपर्ने माग गरिन्।
कृषि प्रधान भनिने देशका किसानका लागि सिटामोल भन्दा रासायनिक मल महत्त्वपूर्ण बन्ने अवस्था आउनु दुःखद भएको उनको भनाइ छ।




















