राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले नागरिकबाट कर उठाए पनि त्यसअनुसार सेवा सुविधा दिन नसकेको आरोप लगाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले आजका नागरिकले औसत ४० प्रतिशतभन्दा बढी कर तिर्ने गरेको भए पनि राज्यले शिक्षा, स्वास्थ्य, सडक र पार्किङजस्ता आधारभूत सुविधा उपलब्ध गराउन नसकेको बताए।
उनले कर तिरेबापत नागरिकले सुविधा पाउनुपर्ने भए पनि अहिले उल्टै दुःख, निराशा र आत्महत्याको अवस्था सिर्जना भइरहेको टिप्पणी गरे। उनले गणेश नेपालीको घटनालाई उदाहरण दिँदै राज्यको कमजोरीका कारण यस्तो अवस्था आएको आरोप लगाए।
‘आजका नागरिकले औसत ४० प्रतिशतभन्दा बढी कर तिर्छन्। तर राज्यले के दिन्छ रु न शिक्षा निःशुल्क छ, न स्वास्थ्य निःशुल्क छ, न गतिलो बाटो छ, न पार्किङको व्यवस्था छ। कर लिएपछि त्यसको बदलामा सुविधा दिनुपर्छ,’ उनले भने।
सांसद शाहीले गृहमन्त्रीको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन्। उनले गृहमन्त्रीले जनताको जीवन बचाउनेभन्दा मिडिया र प्रचारमा बढी ध्यान दिएको आरोप लगाए।
‘तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर हो ? हिजो गृहमन्त्री चलचित्रको नायकजस्तो मिडिया घेरेर कहिले विमानस्थल, कहिले कता दौडिरहनुभएको थियो,’ उनले भने। उनले गृहमन्त्रीको प्राथमिकता भिडियो बनाउने नभई नागरिकको जीवन रक्षा गर्ने हुनुपर्ने बताए।
‘हामीलाई गृहमन्त्रीले कति भिडियो बनाउनुभयो, कति युट्युब चलाउनुभयो भन्ने मतलब छैन। महत्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बच्यो कि बचेन भन्ने हो,’ शाहीले भने।




















