प्राध्यापक डा. गोविन्द केसी अनशनरत कैलालीको धनगढीस्थित कृष्ण मन्दिर बाहिर प्रदर्शन भइरहेको छ । २४औं सत्याग्रहमा रहेका केसीले अनशन फिर्ता लिनुपर्ने माग गर्दै मन्दिर बाहिर प्रदर्शन सुरू भएको हो ।
मन्दिर धर्मशालाको २११ नं. कोठामा अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका थिए ।
परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको छ । सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन् ।
चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका छन् । तर डा. केसीले उक्त सुझावबारे आफू विचार गर्ने प्रतिक्रिया दिएका छन् ।
केसीले उठाएका माग सम्बोधन गर्न सरकार तयार रहेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताइसकेका छन् । शुुक्रबार साँझ डा. केसीका सहयोगी जैशीसँग कुरा गरेका मन्त्री पोखरेलले राति ११ बजेतिर स्वयंम केसीसँगै फोन संवाद गरेका थिए ।
संवादका क्रममा पोखरेलले सरकार माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका थिए । केसीले पाँच मागका अतिरिक्त सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल तीन सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने, चिकित्सा शिक्षाको अध्ययन थाल्नुुपर्ने र स्वार्थ प्रेरित भएर गरिएको उपकुुलपति र रजिष्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने बटमलाइन भएको बताएका थिए ।
जवाफमा मन्त्री पोखरेलले ती माग सम्बोधन गर्नेगरि वार्ता टोली गठन गर्ने र सम्भव भएमा आफैँ धनगढी आउने बताएको केसीका सहयोगी डा. जैशीले बताए ।




















