दाङको देउखुरीमा माटोको ढिस्कोले पुरिँदा १५ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी दाङका अनुसार राजपुर गाउँपालिका २ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्र्याक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर बालक पुरिएको हो।

शनिबार राति करिब ९ बजे दुई जना बालक ट्र्याक्टरसँगै माटो लिन गएका थिए। सोही क्रममा एक्कासी माटोको ढिस्को खस्दा एक बालक पुरिएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनामा संलग्न ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।