स्रोत खुलाउन नसकेको ४ लाख ५० हजार रुपैयाँ नगद र ई–साइकलसहित विराटनगरबाट १ जना पक्राउ परेका छन्। बरामद रकम अवैध हुन्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का ३४ वर्षीय श्यामप्रसाद साह रहेका छन्। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार साहलाई आइतबार दिउँसो नेपाल–भारत सीमावर्ती क्षेत्र विराटनगर–१७ मटेरुवाबाट पक्राउ गरिएको हो।

भारतबाट नेपालतर्फ ई–साइकलमा आउँदै गरेका साहमाथि शङ्का लागेपछि अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले चेकजाँच गर्दा उनको साथबाट १ हजार दरका ४ सय ५० थान नेपाली नोट गरी कुल ४ लाख ५० हजार रुपैयाँ बरामद भएको हो।

उक्त रकमको वैध स्रोत खुलाउन नसकेपछि साहलाई नगद र ई–साइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनी विरुद्धको अनुसन्धानका लागि साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। इन्स्पेक्टर प्रवीण घिमिरेको नेतृत्वमा प्रहरीले रकमको स्रोत, नेपाल ल्याउनुको उद्देश्य तथा सम्भावित अवैध आर्थिक कारोबारसँगको सम्बन्धबारे थप अनुसन्धान गरिरहेको छ।