सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न र साम्प्रदायिक भड्काव रोक्न सर्वपक्षीय बैठकले विशेष पहल गर्ने निर्णय गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेले सो क्षेत्रको सुरक्षा स्थिति हाल पूर्ण नियन्त्रणमा रहेको जानकारी दिए। थेबेका अनुसार सोमबारको सर्वपक्षीय बैठकमा सहभागी सबै राजनीतिक दल तथा सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट साम्प्रदायिक हिंसा र तनाव रोकथामका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए। ‘बैठकले सबैले आफ्नो ठाउँबाट यो साम्प्रदायिक भड्किने खालका कुराहरूलाई नियन्त्रण गर्न, रोकथाम गर्न अहिलेबाट आफ्नो पक्षबाट लागि पर्ने भन्ने निर्णय भएको छ,’ थेबेले भने।
जिल्ला सुरक्षा समितिको निरन्तर बैठक बसिरहेको र समग्र जिल्लाको सुरक्षा व्यवस्था ‘कमान्ड र कन्ट्रोल’ भित्रै रहेको उनले बताए। ‘जिल्ला सुरक्षा समितिको बैठक त बसिराछ, कमान्ड कन्ट्रोलमै छ। देवानगञ्ज र कप्तानगञ्जको अवस्था ठीक छ, नर्मल नै छ। अलिअलि हाइवेमा लौकी, भोक्राहातिर चाहिँ बन्द गरिराख्या छन्, सडक जाम छ, त्यही छ,’ थेबेले भने।
देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रको अवस्था नियन्त्रणमा भए पनि लौकी र भोक्राहा क्षेत्रका केही स्थानमा सानातिना समूह भेला भई राजमार्ग अवरुद्ध गर्ने प्रयास भइरहेको प्रहरी प्रमुख थेबेले बताए।
आज कुनै नयाँ अप्रिय घटना वा थप मानवीय क्षति नभएको र स्थिति सामान्य बनाउन प्रहरी टोली परिचालन गरिएको छ। घटनामा हालसम्म एक जनाको मात्रै मृत्यु भएको र थप अप्रिय विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।




















