हास्य कलाकार हरिवंश आचार्यले मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर गएर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको बताएका छन्। उनले प्रविधिको दुरुपयोग, वैदेशिक रोजगारीको प्रलोभन र संगठित आपराधिक सञ्जालका कारण मानव बेचबिखनका चुनौती थप जटिल बन्दै गएको उल्लेख गरे।
मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आचार्यले अहिले युवा, बालबालिका तथा विभिन्न प्रलोभनमा पारिएका व्यक्तिहरू मानव बेचबिखनको जोखिममा परिरहेको बताए।
‘आजको परिस्थितिमा चेलीबेटी बेचबिखनमा मात्र संसार सीमित छैन। चेलीबेटी बेचबिखनभन्दा पनि मानव बेचबिखनका घटनाहरू बढिरहेका छन्, जहाँ युवाहरू, बालबालिका र विभिन्न आवरणमा मानिसहरूलाई विदेश पुर्याएर बेच्ने तथा शोषण गर्ने आपराधिक गतिविधि विस्तार भइरहेको छ,’ उनले भने।
उनले मानव बेचबिखनसँग सम्बन्धित चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएको र यसको नियन्त्रण नेपाल प्रहरीका लागि समेत ठूलो चुनौती बनेको बताए। बदलिँदो अपराधको स्वरूपअनुसार सुरक्षा निकायले पनि आफ्नो क्षमता र रणनीति विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
आचार्यले आधुनिक प्रविधि, विशेषगरी मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगले ठगी तथा मानव बेचबिखनका घटनालाई थप बढावा दिएको बताए। प्रविधिले मानव जीवनलाई सहज बनाएको भए पनि त्यसको गलत प्रयोगले समाजमा गम्भीर विकृति सिर्जना गरिरहेको उनको टिप्पणी थियो।
‘मोबाइलले हाम्रो जीवनमा धेरै सकारात्मक परिवर्तन ल्याएको छ। तर यसको दुरुपयोग गरेर समाजले हेर्न नसकिने खालका विकृत गतिविधि पनि भइरहेका छन्,’ उनले भने, ‘धेरै नेपाली युवा–युवती विभिन्न प्रलोभनमा परेर विदेश पुगिरहेका छन् र त्यहाँ अमानवीय तथा कष्टपूर्ण जीवन बिताउन बाध्य भएका छन्।’
उनले आकर्षक रोजगारी, उच्च आम्दानी र राम्रो जीवनशैलीको आश्वासनमा परेर विदेश जाने धेरै नेपाली युवा–युवती अन्ततः शोषण, ठगी र कठिन परिस्थितिको सामना गर्न बाध्य हुने गरेको बताए। मानव बेचबिखनविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उनले जोड दिए।




















