सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई दिनपछि गृह जिल्ला जाने तयारीमा थिए। 

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोष्टिङ भएको थियो। तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर उनले ज्यान गुमाएका छन्।

बाढीमा परेर शव भेटिएको पाँच दिनपछि सोमबार चितवन र तनहुँको संगम देवघाटमा उनको अन्त्येष्टि गरिएको छ। शव बिग्रने अवस्था भएको र घरसम्म लैजान नमिल्ने भएपछि देवघाटमै अन्त्येष्टि गरिएको आयुषका काका रमेश खड्काले बताए।  

काका रमेशका अनुसार रसुवा पोष्टिङ भएपछि आयुषले अधिकृतमा नाम निकालेर सरकारी जागिर प्रवेश गर्ने सोच बनाएका थिए। 

तर, परिवारले नाम निस्किएकाले काम गर्दै पढ्न सुझाव दिएपछि उनी रसुवा पुगे। ‘पढ्नमा साह्रै रुचि राख्थ्यो। खरिदार हुँदिनँ। म सिधै अधिकृत निकाल्छु भन्थ्यो,’ रमेशले सुनाए, ‘रसुवाको पोष्टिङमा खासै रुचि देखाएको थिएन। तर, परिवारमा कुरा भएपछि जान बाध्य भयो।’

बागचौर नगरपालिका– १० पिपलनेटाका आयुष, खड्का परिवारकै जेठो छोरा हुन्। उनी भदौ १२ मा काठमाडौँ आउने र त्यसपछि परीक्षा दिन भदौ १६ मा घर जाने योजनामा थिए। दुर्भाग्य, घर जाने तयारी गरिरहँदा भदौ १० को बिहान उनी बाढीमा परे। आयुषको परिवारमा बुवा, आमा र बहिनी छन्। 

आयुष बाढीमा परेको खबरपछि आमा मुना बेहोस भएकी थिइन्। आयुषको अन्त्येष्टि भइरहँदा आमा मुना र बहिनी आयुषा अर्धमूर्छित भएका थिए। अन्त्येष्टिमा सहभागी आफन्तले उनीहरूलाई सम्हालेका थिए।