‘भरे कुरा गरौँला।’ भदौ १० गते बिहान करिब ६ बजे रसुवाबाट श्रीमती रविनासँग कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राखेका थिए, काम सुरु हुन लागेको थियो। यता रविना पाँच वर्षीया छोरीलाई विद्यालय पठाउने तयारीमा थिइन्।
त्यसको केही समयपछि रसुवाको भोटेकोसी नदीमा भीषण बाढी आयो। बाढीको खबर पाएपछि रविनाले श्रीमान्लाई फोन गरिन्। फोन उठेन। पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन। बिहान ‘भरे कुरा गरौँला’ भनेर छुट्टिएको त्यो संवाद नै उहाँहरूबीचको अन्तिम बन्न पुग्यो।
मकवानपुरको भीमफेदी गाउँपालिका–२ का सविन विगत चार वर्षदेखि रसुवाको जलविद्युत् आयोजनामा सवारीचालकका रूपमा कार्यरत थिए। एक महिनाको बिदा लिएर घर आएका उनी केही दिनमै कम्पनीले बोलाएको भन्दै भदौ ७ गते काममा फर्किएका थिए।
सविनकी ठूलीआमा नानीमाया रानाका अनुसार, आइतबार (भदौ ७) घरबाट हिँडेका उनी काठमाडौं बसेर मंगलबार (भदौ ९) मात्र रसुवा पुगेका थिए।
“घर आउँदा एक महिनाका लागि बिदा लिएर आएको भन्थ्यो। पाँचरछ दिन हुनेबित्तिकै कम्पनीले बोलायो भनेर काममा फर्किएको थियो,” नानीमायाले भनिन्, “मंगलबार मात्रै रसुवा पुगेको थियो रे १ त्यही बाढी आउने दिनबाट काम सुरु भएको थियो रे १ एकैछिनमा सबै सकियो।”
सम्पर्क टुटेपछि परिवार सुरुका दुई दिन कुनै सुखद खबर आउने आशामा बस्यो। त्यसपछि सविनको खोजीमा आफन्त अस्पताल र शव राखिएका स्थानसम्म पुग्न थाले। अन्ततः सोमबार (भदौ १५) नवलपरासीमा फेला परेको एउटा शवसँगै परिवारको खोजी टुंगियो।
शवको अवस्था बिग्रिएकाले अनुहारबाट पहिचान गर्न कठिन थियो। परिवारका निम्ति सविनलाई चिनाउने आधार बन्यो उनको बायाँ हातमा रहेको ट्याटु।
भीमफेदी–२ का वडाध्यक्ष काशीराम बज्युले हातमा रहेको ट्याटुका आधारमा परिवारले सविनको शव पहिचान गरेको जानकारी दिए। सविनका बुवा १४–१५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन्। नेपालमा आमा, भाइ, श्रीमती रविना र पाँच वर्षीया छोरी छन्।
सविनको परिवार फोन आउने आशामा बसिरहँदा हेटौँडा उपमहानगरपालिका–५, ढुंगेधारामा पनि उस्तै बेचैनी थियो। दुई वर्षदेखि चिलिमे जलविद्युत् आयोजनामा टिपर चालकका रूपमा कार्यरत उद्धव खड्काले पत्नी निरू र छोरी निमिसालाई पनि आफूसँगै रसुवा लगेका थिए। छोरीलाई विद्यालय जान सहज होस् भनेर नजिकै कोठा भाडामा लिएर परिवारलाई राखेका थिए।
भदौ १० गते बिहान भोटेकोसीको बाढीका दृश्य सामाजिक सञ्जालमा फैलिएपछि हेटौँडामा रहेका उद्धवका आफन्तले फोन गर्न थाले। उद्धवको फोन लागेन। पत्नी निरूको नम्बरमा पनि सम्पर्क हुन सकेन। केही समयका निम्ति तीनैजना बेखबर भए।
भदौ ११ गते हेटौँडा उपमहानगरपालिकाको टोली उनीहरूसहित सम्पर्कविहीन नागरिकको खोजीका निम्ति रसुवातर्फ निस्कियो। सडक अवरुद्ध भएकाले टोली काठमाडौंमै रोकियो।
काठमाडौंका विभिन्न अस्पतालमा खोजी गर्दा उनीहरूबारे जानकारी नपाएपछि भदौ १२ गते टोली नुवाकोट पुग्यो। त्यहाँ नेपाल प्रहरीले हेलिकोप्टरमार्फत उद्धार गरेकाहरूको सूचीमा दुई नाम भेटिए। निरू खड्का र निमिसा खड्का। आमाछोरी जीवित थिए। उनीहरूको उद्धारपछि हेटौँडा ल्याउने व्यवस्था मिलाइयो।
निरू र निमिसा जीवित भेटिएपछि उद्धव पनि कतै उद्धार भएर सुरक्षित स्थानमा होलान् भन्ने परिवारमा आशा थपिएको थियो। तर, उद्धवको नाम कुनै उद्धार सूचीमा भेटिएन। परिवारका सदस्य अस्पतालदेखि सम्भावित स्थानसम्म खोज्दै हिँडे। अन्ततः भदौ १२ गते नवलपरासीमा उनको शव फेला पर्यो।
हेटौँडा–५ का वडाध्यक्ष सुशील घिमिरेका अनुसार, कामको व्यस्तताका कारण उद्धव सातामा एक दिनजति मात्र परिवारसँग बस्न कोठामा आउने गर्थे। बाढी आउँदा उनी काममा थिए। कोठामा रहेका निरू र निमिसाले भने बाढी आएको थाहा पाएपछि अरूसँगै भागेर ज्यान जोगाएका थिए।
“उद्धव शनिबार कोठामा आएर आइतबार काममा गएका रहेछन्। छोरीलाई स्कुल पठाउन सहज होस् भनेर स्कुलनजिकै कोठा भाडामा लिएर परिवारलाई राखेका रहेछन्,” वडाध्यक्ष घिमिरेले भने, “त्यो दिन बिहान एक्कासि बाढी आयो। श्रीमती र छोरी भने कोठामै भएकाले भागेर ज्यान जोगाउन सफल भएछन्।” निरू र निमिसा जीवितै हेटौँडा फर्किए।
उद्धव दुई वर्षदेखि रसुवामा काम गरिरहेका थिए।
हेटौँडा–१५, भोर्लेका २६ वर्षीय सुमन गोलेलाई भने राम्रो आम्दानीको आशाले दुई महिनाअघि मात्र रसुवा पुर्याएको थियो। उनी त्यसअघि हेटौँडा–१५ स्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगमा अपरेटरका रूपमा कार्यरत थिए। सुमन रसुवामा हाइड्रोपावरको स्काभेटर चालकका रूपमा काम गर्थे।
बाढी आएको बिहान उनी रातिको काम सकाएर फर्किएका थिए। बिहान करिब ६ बजे श्रीमती रेविकासँग फोनमा कुरा गरे। रातभर काम गरेकाले निद्रा लागेको र अहिले सुत्ने तथा दिउँसो फेरि फोन गर्ने बताएका थिए।
सुमनकी छिमेकी निर्मला घलानका अनुसार, त्यसपछि श्रीमतीसँग उनको फेरि कुरा हुन पाएन। “राम्रो तलब हुन्छ भनेर दुई महिनाअघि मात्रै उता काममा गएको थियो,” उनले भनिन्, “नाइट डिउटी सकेर बिहान श्रीमतीसँग कुरा गरेको रहेछ। रातभरिको निद्रा छ, अहिले सुत्छु, दिउँसो फोन गरौँला भनेको थियो रे १ बिहानै बाढीले बगाएछ।”
बाढीको खबर पाएपछि परिवारले सुमनलाई पटक–पटक फोन गरेको थियो। सम्पर्क हुन सकेन।
निर्मलाका अनुसार, सुमनका साथीहरूबाट परिवारले पाएको जानकारीमा बाढी आउँदा उनी सुतिरहेका थिए। साथीहरूले उठेर भाग्न आग्रह गरे पनि समयमै बाहिर निस्कन नसकेको जानकारी परिवारले पाएको उनले बताइन्।
परिवारको प्रतीक्षा अन्ततः सुखद रहेन। सुमनको शव पनि नवलपरासीमा फेला पर्यो। उनको परिवारमा श्रीमती, चार वर्षीय छोरा र भाइ छन्।
सविन, उद्धव र सुमनका घर फरक थिए। रसुवा पुगेको समय फरक थियो। जिम्मेवारी पनि फरक थिए। तर, तीनैजनालाई घरबाट टाढा पुर्याउने कारण एउटै थियो, रोजगारी। त्यही रोजगारीले तीनैजनालाई रसुवाका जलविद्युत् आयोजनासँग जोडेको थियो।
रोजगारीका निम्ति उनीहरू घरबाट निस्किएका थिए। तीनैजनाको खोजी अन्ततः घर फर्कने बाटोमा होइन, शव पहिचान गर्ने ठाउँमा पुगेर टुंगियो।












