रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त बनेको नागढुंगा–मुग्लिङ सडकखण्ड अन्तर्गत कृष्णभीरमा बाटो पुनः सञ्चालनका निम्ति रुख कटानको कार्य सुरु गरिएको छ। बाढीले सडक भासिएपछि अवरुद्ध बनेको उक्त खण्ड खुलाउन आवश्यक तयारी थालिएको हो।
हाल २९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटानको काम भइरहेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की प्रमुख सजना अधिकारीले जानकारी दिइन्।
सडक मर्मत र पहिरो व्यवस्थापनका निम्ति जियोटेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले उक्त क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बिहीबार (भदौ १८) बेलुकासम्म बाटो खुलाउने प्रक्रियासम्बन्धी नक्सांकन (ड्रइङ) सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।
सोसाइटीको प्रतिवेदन प्राप्त भएलगत्तै पहिरो पन्छाउने र सडक सुचारु गर्ने काम औपचारिक रूपमा थालिने योजना प्रमुख अधिकारीले बताइन्।
हाल निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सडक खुलाउनका निम्ति आवश्यक पूर्वतयारीलाई तीव्रता दिएका छन्।












