राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटस्थित जलविद्युत् आयोजनाका टनेलमा फसेका नागरिकको खोज तथा उद्धारमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै शाहीले बाढीले थुनिएका सातवटा जलविद्युत् आयोजनाका टनेलमध्ये दुईवटा मात्रै खोलिएको र पाँचवटा टनेलमा अझै खोजी तथा उद्धारको काम हुन नसकेको बताए।

‘बाढीका कारण सबै टनेलको मुख बन्द छैन। केही टनेलको मुख खुल्लै छ,’ उनले भने, ‘टनेल बन्द भए जुम्लाका लालवीर बुढा, रमेश बुढाहरू कसरी जीवित आए त? ती टनेलभित्र पसेर खोज्ने काम नै भएको छैन।’

शाहीले पाँचवटा टनेलमा तत्काल प्रवेश गरेर खोजी गर्न सरकारसँग आग्रह गरे। थुनिएका टनेलबारे विज्ञ र इन्जिनियरसँग पर्याप्त छलफल नभएको उनको आरोप थियो।

उनले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङसँग समेत सरकारले समयमै संवाद नगरेको बताए।

घिसिङले ती जलविद्युत् आयोजनामा लामो समय काम गरेको उल्लेख गर्दै शाहीले प्रधानमन्त्री वालेन्द्र शाहले बाढी आएको आठ दिनपछि मात्रै बिहीबार उनीसँग भेट गर्न लागेको बताए।

जुम्लाका १०१ जना मानिस अझै रसुवा र नुवाकोटका विभिन्न टनेलमा रहेको उनले बताए। टनेलभित्र पसेको हिलो हटाउन मेसिन नभएको प्रधानमन्त्रीले बताएको भन्दै उनले सरकारको तयारीमाथि प्रश्न उठाए।

‘हामीसँग महावीर पुनजस्ता वैज्ञानिक मन्त्री छन्। हिलो तान्न लगिएको मेसिन तीन दिनदेखि सडकमा अड्किएको छ,’ उनले भने, ‘रसुवाको नौकुण्ड गाउँपालिकामा हिलो तान्ने मेसिन अड्किएर बसेको छ। त्यसलाई हेलिकप्टरले किन लान सकेन ?’

नागरिकको उद्धारका लागि सरकारसँग आग्रह गर्नु अपराध नभएको भन्दै शाहीले आफूलाई जतिसुकै आलोचना भए पनि संकटमा परेका नागरिकको उद्धारको माग गरिरहने बताए।

‘यदि नागरिकको उद्धार गरिदिनुस् भन्नु अपराध हो भने देश र जनताका लागि म हजार पटक अपराध गर्न तयार छु,’ उनले भने, ‘मैले कसैसँग भिख मागेको होइन। संकटमा परेका नागरिकको उद्धार गरिदिनुस् भनेको हो।’

आफूहरूसँग सेना परिचालन गर्ने वा ठूलो बजेट चलाउने अधिकार नभएको भन्दै उनले उद्धारको सम्पूर्ण जिम्मेवारी सरकारसँग रहेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग समेत त्यस्तो अधिकार नरहेको उनको भनाइ थियो।

शाहीले रसुवाको एउटा टनेलमा सांसद बब्लु गुप्ता आफैं रहेको र पाँचवटा टनेलमा अझै प्रभावकारी काम हुन नसकेको बताए।

‘पाँचवटा टनेलमा केही काम नै भएको छैन। हामीले माग्ने सरकारसँगै हो। हिजो नख्खुमा बग्दै गएका नागरिकलाई उद्धार गर्दिनुस् भन्दा तत्काालीन प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले आक्रमण गरे। रातो लुगा लगाएका एमालेका कार्यकर्ताहरू त्यसबेला हामीलाई कुट्न आउँथे’, उनले भने, ‘अहिले एकजना महिलाले टनेलमा फसेका श्रीमान्को खोजी गरिदिनुस् भन्दा रास्वपाका नीलो साइबर स्यालहरू उनीमाथि दुर्व्यवहारसहित गालीगलौज र आक्रमण गरिरहेका छन्।’