बाँकेको कोहलपुरमा जुवा खेल्दै गरेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापतिसहित ५ जना पक्राउ परेका छन्। कोहलपुर नगरपालिका–१३ स्थित खड्कवारबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ घर भएका कुलबहादुर ओली, कोहलपुर–१२ घर भएका धनबहादुर परियार, चन्द्रबहादुर बस्याल, बेलबहादुर डाँगी र कोहलपुर–५ घर भएका राम गुरुङ छन्।
जुवा खालबाट २ लाख २ हजार नगद बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर हरि पुनले जानकारी दिए। पक्राउ परेका कुलबहादुर ओली रास्वपा बैजनाथ–४ का वडा समितिका सभापति हुन्।
शुक्रबार राति पक्राउ परेका उनीहरूमाथि प्रहरीले आइतबार म्याद लिएर थप अनुसन्धान गर्ने तयारी गरेको छ।












