त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत रहँदा बाढीमा परी बेपत्ता भएका कर्मचारीका परिवारले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

बाढी आएको लामो समय बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था अज्ञात रहेको भन्दै पीडित परिवारले सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रदर्शनमा उत्रिएका परिवारजनले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य सुस्त भएको भन्दै सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेका छन्। 

'आफन्तको खोजी कहिलेसम्म?' भन्दै उनीहरूले राज्यको उदासीनताप्रति आक्रोश व्यक्त गरे। लामो समयदेखि पर्खाइमा रहेका परिवारले बेपत्ताको यथार्थ जानकारी सार्वजनिक गर्न र खोजी कार्यलाई तीव्रता दिन दबाब स्वरूप यो प्रदर्शन गरेका हुन्। 

माइतीघरको प्रदर्शनमा बेपत्ताका परिवार र आफन्तहरूको उल्लेख्य सहभागिता रहेको थियो।