सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र जरेमा रहेका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका रसुवा बाढी प्रभावितसँग भेटघाट गरी उनीहरूको अवस्था तथा आवश्यकताबारे जानकारी लिएका छन्।
त्यसैगरी, बाढीका कारण प्रभावित तथा अवरुद्ध बनेको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीर क्षेत्रको स्थलगत अवलोकन गरी पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन्।
सभामुख अर्यालले क्षति पुगेका गल्छी गाउँपालिकास्थित बागेश्वरी माध्यमिक विद्यालय र बैरेनी अस्पताल तथा चरौधीस्थित कृषि सहकारी संस्था र बुद्धि विकास माध्यमिक विद्यालयको समेत स्थलगत निरीक्षण गरे।
सो क्रममा प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित गाउँपालिकाका पदाधिकारीसँग भेट गरी बाढी तथा पहिरोबाट भएको क्षति, हालसम्म सञ्चालन गरिएका खोज तथा उद्धार कार्य, प्रभावितहरूको अवस्था तथा तत्काल आवश्यक राहत र पुनर्स्थापनाका विषयमा छलफल गरेका छन्।












