सुशासनको माग गर्दै २३ भदौ २०८२ मा युवाहरू सडकमा आएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बताएकी छन्। त्यतिबेला सरकारसँग सडकमार्फत माग राख्दा गोली चलाइएको उनको भनाइ छ। 

काठमाडौंमा मंगलबार आयोजित जेन-जी सहिद स्मृति दिवसका अवसरमा मन्त्री गौतमले त्यतिबेला सत्ता पल्टाउन आन्दोलन नगरिएको बताइन्। 'सयम परिस्थितिमा विभिन्न मानिसका आ-आफ्ना राय, विचारहरू होलान्। कोही पक्षमा हुनुहोला, कोही विपक्षमा। तर एउटा कुरामा हामी सबै सहमत हुनैपर्छ, पहिला २३ गतेको घटना भएको हो, त्यसपछि मात्रै २४ गते भएको हो,' मन्त्री गौतमले भनिन्,'२३ गतेको घटनामा कोही पनि मानिस, कोही युवाहरू कसैको कुर्सी खोस्छु भनेर सडकमा आएका थिएनन्। सुशासनको माग गरेर युवा सडकमा आएका थिए। २३ गतेको घटनामा कोही पनि युवा म कसैको कुर्सी खोस्छु भनेर सडकमा आएको थिएन। म आवाज दिन्छु, मेरो सरकारले सुन्छ भन्ने विश्वासले आएका थिए। तर जनताको विश्वासमाथि घात भएको दिन हो त्यो।'

मन्त्री गौतमले जेन-जी आन्दोलनमा सुशासनको माग भएको र गैरराजनीतिक आन्दोलन भएको बताइन्। गत  २३ र २४ भदौको आन्दोलनलाई एउटै आँखाले हेर्न नमिल्ने पनि उनको भनाइ थियो। २३ गते सरकारका तर्फबाट बल प्रयोग भएको उनले बताइन्। 

आन्दोलनपछि मुलुकलाई लोकतान्त्रिक बाटोमा ल्याउन र जनताले चाहेअनुसारको नेतृत्वका लागि निर्वाचन भएको गौतमले बताइन्। 'नेपाली जनताले के चाहेको रहेछ भन्ने कुरा मतपत्रको परिणामबाट देखिन्छ,' उनले भनिन्।

मन्त्री गौतमले युवाहरूले सरकारबाट ठूलो आस गरेको तर राज्यको संरचनाका कारणले काम गर्न नपाइएको पनि गुनासो गरिन्। उनले प्रतिनिधिसभामा रास्वपाको दुई तिहाई मत भएपनि राष्ट्रिय सभा र राष्ट्रपति आफ्नो पक्षको नहुँदा समस्या परेको संकेत गरिन्। यी कुरा सरकारका अप्ठ्याराका रूपमा रहेको उनको भनाइ थियो। 

उनले युवाहरूलाई धैर्यता र एकता बनाएर राख्न आग्रह गरिन्। सरकारमाथि विश्वास राख्न आग्रह गर्दै उनले युवाहरूका माग सम्बोधन हुने आश्वासन दिइन्।