नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई ८७ रनले हराउँदै फाइनमा स्थान बनाएको हो।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान १८.१ ओभरमा ६० रनमै अलआउट भयो। उसका लागि जतिन्दर सिंहले २५ तथा जितेन रमानन्दीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
ओमानलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भयो।
नेपाललाई लज्जास्पद स्कोरबाट बचाउन दीपेन्द्र सिंह ऐरीले ५१ तथा बसिर अहमदले ४७ रनको योगदान दिए। अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन्।
ओपनरद्वय देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे। यस्तै, ईशान पाण्डेले १, रोहित पौडेलले ३, गुलशन झाले ७, करण केसीले ५, सन्दीप लामिछानेले ३ रन जोडे।
बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए। यस्तै, मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए।
जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ। युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ।
फाइनल खेल शनिबार हुनेछ। उपाधि जित्ने टोलीले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउने छ।












