मोरङको बेलबारीमा ४० वर्षअघिको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले बेलबारी नगरपालिका–४ का रामकुमार राई, बालकुमार राई र बाबुराम राईलाई पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा तीनै तहको अदालतले दोषी ठहर गरेका उनीहरु लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए।

उनीहरुलाई विशेष सूचनाका आधारमा बुधबार राति आफ्नै घरबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। कर्तव्य ज्यान मुद्दामा तीनै जनालाई जिल्ला अदालत मोरङले २०६१ साल जेठ १० गते दोषी ठहर गर्दै कैद सजाय हुने फैसला सुनाएको थियो।

मुद्दा जिल्लाबाट तत्कालीन पुनरावेदन अदालत विराटनगर हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले २०६२ साल चैत ११ गते तल्ला अदालतको फैसलालाई सदर गरेको थियो।

पक्राउ परेकामध्ये रामकुमार राईलाई २० वर्ष कैद सजाय हुने फैसला भएको थियो। सोही मुद्दामा बालकुमार राई र बाबुराम राईलाई जनही पाँच वर्ष कैद सजाय तोकिएको थियो। तर, सजाय भुक्तान नगरिकन उनीहरु लामो समयदेखि फरार रहँदै आएको एसपी कटवालले बताए।

अदालतको फैसलासम्बन्धी अभिलेखअनुसार घटना २०४३ साल असार १५ गते तत्कालीन डाँगीहाट गाविस (गाउँ विकास समिति)–८ र बाहुनी गाविस–१ को सीमास्थित खेतमा भएको थियो। घाँस काटेको विषयलाई लिएर विवाद हुँदा झगडा भएको र सोही क्रममा रामकुमार राईले खुकुरी प्रहार गर्दा आशाराम खवासको घटनास्थलमै मृत्यु भएको अदालतको फैसलामा उल्लेख छ।

मृतकको टाउकोको देब्रे भागमा धारिलो हतियारले काटिएको चार इन्च लामो चोट देखिएको लासजाँच मुचुल्काबाट खुलेको थियो। पक्राउ परेका तीनै जनालाई अदालतमा बुझाइएको र अदालतले सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ।