प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले ग्यास अभावका कारण नागरिकले भोग्नुपरेको समस्याबारे सदनमा कुरा उठाएकी छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सुत्केरी श्रीमतीलाई तातो खाना खुवाउन नसकेको निराशाबीच एक युवाले धोबी खोलामा हाम फालेर आत्महत्या गर्न खोजेको घटनाबारे सरकार जानकार छ कि छैन भन्दै उनले प्रश्न गरिन्।
‘नागरिकले नयाँ मन्त्रीभन्दा पनि ग्यास खोजेका छन्,’ गुरुङले भनिन्, ‘मन्त्री त फेरिनुभयो, अब नागरिकको घरमा भएको रित्तो सिलिन्डर पनि फेरियोस्।’
त्यस्तै, सप्तरीमा आर्थिक अभावका कारण एक महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनु परेको घटनाले आफूलाई लज्जाबोध भएको उनले बताइन्। सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको भएको उल्लेख गर्दै उनले आर्थिक अभावका कारण नागरिकले सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन्।
गुरुङले प्रधानमन्त्रीको नियतमाथि तत्काल प्रश्न नगरे पनि सरकारबाट अपेक्षित परिणाम आउन नसकेको बताइन्। प्रधानमन्त्रीले जानाजान वा अज्ञानतावश, अहंकारका कारण वा घेराबन्दीमा परेर काम गर्न नसकेको हो भन्ने विषय स्वयंले पत्ता लगाउनुपर्ने उनको भनाइ थियो।
‘सरकार असफलताको बाटोमा गइरहेको छ,’ उनले सरकारलाई सचेत गराउँदै भनिन्।
सांसद् गुरुङले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको आधिकारिक विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।
उनले बाढीबाट कति जनाको मृत्यु भयो र कति बेपत्ता छन् भन्ने विषयमा सरकारले अहिलेसम्म आधिकारिक तथ्यांकसमेत सार्वजनिक गर्न नसकेको भन्दै प्रश्न उठाइन्।
उनले बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम परिचालन गर्नुपर्ने बताइन्। प्रभावित नागरिकको खातामा पुग्ने गरी नगद राहतसमेत उपलब्ध गराउनुपर्ने उनको माग थियो।
‘उद्धार कोषमा पैसा थुपारेर मात्र नागरिकलाई राहत पुग्दैन,’ गुरुङले भनिन्, ‘बाढी प्रभावित नागरिकलाई तत्काल राहत दिनुपर्छ।’












