काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट दुई वटा ट्रकमा लोड गरी राखिएको सात सय पाँच वटा ग्यास सिलिन्डर प्रहरीले बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो।
ग्यास कालोबजारी गरेको आरोपमा वसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई प्रहरीले पक्राउ गरेको छ। लुइँटेल मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर–२ का स्थानीय हुन्।
वसुन्धारामा ग्यास स्टोर सञ्चालन गरेका लुइँटेलले प्रति सिलिन्डर २ हजार ७५० रुपैयाँमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ। अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार बरामद सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन्।
आरोपीले नयाँ सिलिन्डर ५ हजारमा बेच्ने गरेको एसपी कार्कीले जानकारी दिए।












