इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी इनरुवा–३ का दुई युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा इनरुवा–३ निवासी २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ र १७ को सीमामा रहेको कल्भर्टमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिन।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतक सागर रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी थिए। उनी सुनसरीका प्रमुख जिल्ला अधिकारीको स्वकीय सचिवका रूपमा कार्यरत थिए। अर्का मृतक पारस थापा पनि केही समयअघिसम्म जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत रहेको र केही समयअघि राजीनामा दिएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।












