दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धलाई अस्पताल पुर्याउनुको सट्टा सडकमा फालेर सिटी सफारी चालक फरार भएका छन्। अस्पताल लैजाने भन्दै सिटी सफारीमा राखी अलि पर लगेर सडकमा छाडिएका ८२ वर्षीय तीर्थराज बस्नेतको केही समयपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार बिहान विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ निवासी बस्नेतलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई स्थानीयले उद्धार गरी सोही सिटी सफारीमा राखेर उपचारका लागि पठाएका थिए।
तर, घाइते वृद्धलाई अस्पताल पुर्याउनुको सट्टा चालकले विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेको खुलेको छ। प्रहरीका अनुसार वृद्धलाई सडकमा छाडेपछि चालक सिटी सफारीसहित त्यहाँबाट फरार भएका थिए। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार केही समयपछि मालपोत कार्यालयनजिकै वृद्ध मृत अवस्थामा फेला परेका हुन्। बिहान करिब ६ः३० बजेतिर वृद्ध पुरुष सडकमा मृत अवस्थामा रहेको सूचना आएपछि प्रहरी घटनास्थल पुगेको थियो।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी मकेन्द्रकुमार मिश्रको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। सुरुमा मृतकको पहिचान खुल्न सकेको थिएन। पछि विराटनगर–८ का माधव बस्नेतले मृतक आफ्ना बुवा तीर्थराज बस्नेत भएको सनाखत गरेका थिए।
प्रहरीका अनुसार दुर्घटनापछि घाइतेलाई तत्काल अस्पताल पुर्याइएको भए उनको ज्यान जोगिन सक्ने थियो। तर,उपचारको जिम्मेवारी लिनुपर्ने चालकले घाइतेलाई बीच सडकमा छाडेर भागेको घटनाले मानवीय संवेदनामाथि नै गम्भीर प्रश्न उठाएको एसपी कटवालले बताए। ‘अस्पताल लगेर भर्ना गरेको भए वृद्धको ज्यान बच्न सक्ने अवस्था थियो। तर,सडकको किनारमा छाडेर चालक फरार भएको देखिन्छ,’एसपी कटवालले भने।
घटना लगत्तै प्रहरीले सिटी सफारी र चालकको खोजी थालेको थियो। खोजीका क्रममा बिहान करिब ८ः३० बजेतिर मोरङको कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरबाट ५५ वर्षीय अर्जुन भगत पक्राउ परेका छन्। पक्राउ परेका भगतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।












