नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले मुलुकमा भइरहेको ग्यासको चरम अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै चर्को आलोचना गरेकी छन्। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनता भोक भोकै पर्दा सरकार र जिम्मेवार निकाय बेखबर बनेको भन्दै आक्रोश व्यक्त गरिन्।
‘सरकारलाई जनताको अवस्थाबारे ध्यान छ कि छैन ? जनता भोकमरीमा पर्न थाले,’ सांसद बरालले प्रश्न गरिन्, ‘के हिजोको सरकारले ग्यास च्याम्बरमा मान्छे हालेर मारेको थियो ? आजको सरकारले जनतालाई भोकै पारेर मार्न थालेको हो ?’
सांसद बरालले जनताले ग्यास नपाउनुको कारण, बजारमा मूल्यवृद्धि हुनुको औचित्य र जनता भोकमा रहनुको जवाफ सरकारसँग माग गरिन्। उनले नैतिकताको कुरा गर्ने सरकारको काम गराइमाथि नै प्रश्न उठाउँदै भनिन्, ‘हिजोको सरकारको नैतिकता खोज्नेहरू आज किन चुप छन् ? नैतिकता भनेको जनता मर्नु हो ’
सांसद बरालले सभामुख डोलप्रसाद अर्याललाई सरकारलाई निर्देशन दिन आग्रह गरिन्। ‘जनताका समस्या किन समाधान हुँदैनन् ? ग्यासको समस्या किन छ ? यो कुराको तत्काल जानकारी पाउनुपर्छ। सम्मानित सदनमार्फत म सरकारलाई निर्देशन दिन माग गर्दछु,’ उनले भनिन्।
नागरिकहरू दिनप्रतिदिन निराश र पीडित हुँदै गइरहेको उल्लेख गर्दै सांसद बरालले प्रधानमन्त्री बालेन्द्र शाहलाई गम्भीर बन्न र तत्काल ग्यास तथा आधारभूत राहत सामग्री जनतासम्म पुर्याउन ध्यानाकर्षण गराइन्।












