कोसी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र अवस्थामा रहेका २३२ वटा योजनाहरु यसै आर्थिक वर्षभित्र सम्पन्न हुने भएका छन्। म्याद सकिएका तथा बजेट अभावले सम्पन्न नभएका सडक, पुल तथा भवनसमेत २३२ वटा योजनाको म्याद थप र बजेट व्यवस्थापनका लागि भौतिक पूर्वाधार मन्त्री जीवन आचार्य सकारात्मक देखिएपछि ती योजनाहरूले गति लिने निश्चित भएको हो।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री आचार्य र निर्माण व्यवसायी महासङ्घ कोसी प्रदेशको टोलीबीच भएको छलफलपछि यी अधुरा योजनालाई अघि बढाउने सहमति जुटेको हो। मन्त्री आचार्यले निर्माण व्यवसायीहरूलाई यो अन्तिम मौका भएको स्पष्ट पार्दै चालु आर्थिक वर्षको केही महिनाभित्रै काम सक्ने सर्तमा म्याद थप गर्न सकिने धारणा राखेका छन्। व्यवसायीहरूले पनि अब ढिलासुस्ती नगरी निर्धारित समयभित्रै गुणस्तरीय काम सम्पन्न गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। उनीहरूले अधुरा रहेका योजना सम्पन्न गर्न अन्तिम पटक मौका दिनुपर्ने माग गर्दै मन्त्री र मन्त्रालयको सहयोग खोजेका थिए। सरकारको ठुलो बजेट लगानी भइसकेको तर प्राविधिक हिसाबले अगाडि नबढेका त्यस्ता योजनाहरु सम्पन्न गर्ने पहल मन्त्री आचार्यले अगाडि बढाएका हुन्।
मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२–८३ सम्ममा १२१ वटा कालोपत्रे सडकहरू अधुरा थियो। त्यसबाहेकका पुल, भवन आदिसमेत गरी थप १११ योजनाहरु स्रोत अभावमा त्यस्तै अलपत्र अवस्थामा रहेका कारण अघि बढ्न सकेका थिएनन्।
गत आर्थिक वर्षमा मोरङका ४५, झापाका ४२, सुनसरीका १९, इलामका ९, खोटाङका ३, उदयपुरका २ र धनकुटाको १ सडक योजना स्रोत अभावमा अधुरा रहेका थिए। ती सडक सडक सम्पन्न गर्न मात्रै झण्डै ३२ करोड खर्च आवश्यक पर्ने थियो। थप १११ योजनाहरु अघि बढाउँदा ६० करोड रुपैयाँ भन्दाबढी स्रोत व्यवस्थापन गर्नुपर्ने बताइएको छ।
मन्त्री आचार्यले अधुरा योजना अघि बढाउँदा आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि मुख्यमन्त्री र अर्थमन्त्रीसँग आवश्यक समन्वय गर्ने आश्वासन दिएका छन्।
मन्त्री आचार्यले भने, ‘सरकार र निर्माण व्यवसायी एकअर्काका साझेदार हुन्। व्यवसायीहरूले इमानदारिताका साथ तोकिएको केही महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएकाले सरकारले अन्तिम पटक म्याद थप र बजेट व्यवस्थापनमा सहजीकरण गर्नेछ। तर, काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन।’ उनले मुख्यमन्त्री र अर्थ मन्त्रालयको सल्लाह बमोजिम स्रोतको व्यवस्थापन गरिने तर काम भने युद्ध स्तरमा अघि बढ्नुपर्ने अडान राखेका छन्।
मन्त्रीको सकारात्मक जवाफपछि निर्माण व्यवसायीहरू उत्साहित देखिएका थिए। निर्माण व्यवसायी महासङ्घ कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशरबहादुर बुढाथोकीले मन्त्रीको सकारात्मक पहलले आफूहरूलाई नयाँ ऊर्जा दिएको बताए। उनले भने, ‘आजको भेटपछि हाम्रा वास्तविक समस्या समाधान हुने र अलपत्र योजनाहरूले पूर्णता पाउने विश्वास पलाएको छ। मन्त्रीज्यूको सकारात्मक अडानमा हामी सहमत छौँ र यसै वर्षभित्र काम सक्न हामी दृढ छौँ।’
यस सहमतिसँगै प्रदेशका विभिन्न जिल्लामा रोकिइरहेका सडक योजनाहरूले पूर्णता पाउने र सर्वसाधारणले सहज यातायातको सुविधा पाउने अपेक्षा गरिएको छ।