कांग्रेसका नेता डा. शेखर कोइरालाले विश्लेषक भरत दाहालको पक्राउप्रति गम्भीर आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता कोइरालाले दाहाललाई तुरुन्त रिहाइ गर्न माग गरेका हुन्।

कोइरालाले सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थालेपछि स्वेच्छाचारी बन्ने गरेको टिप्पणी गरेका छन्। विश्लेषक दाहालको पक्राउ त्यसैको पछिल्लो उदाहरण भएको उल्लेख गर्दै उनले हामी कस्तो किसिमको समाज निर्माण गर्दैछौँ भनी प्रश्नसमेत उठाएका छन्। 

सरकारले लोकतन्त्रविरोधी यस्ता क्रियाकलापहरू फेरि नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा उनको जोड छ। 'जब सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाल्छ, तब त्यो स्वेच्छ्याचारी हुन थाल्दछ। भरत दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण हो,' कोइरालाले भनेका छन्, 'हामी कस्तो समाज निर्माण गर्दैछौँ। भरत दाहालको तुरुन्त रिहाइ गर्न र यस्ता लोकतन्त्र विरोधी क्रियाकलाप फेरि नदोहोरिने प्रतिवद्धताको लागि सरकारसँग आग्रह गर्दछु।'

प्रहरीले राजनीतिक विश्लेषक भरत दाहाललाई आइतबार मोरङको बेलबारीबाट नियन्त्रणमा लिएको हो। उनी पछिल्लो समय सार्वजनिक रूपमा सरकार तथा बालेन शाहको कार्यशैलीविरुद्ध लगातार खरो रूपमा बोल्दै आएका थिए।