सोमबार राजधानीको त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि भएको छ। ट्राफिक प्रहरीसँगको झडपपछि उनले आक्रोशमा आफैँले चलाएको बसमा आगजनी गरेका थिए। उक्त आगजनीमा परेर गम्भीर घाइते भएका उनको गएराति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले प्रारम्भिक अनुसन्धानबाट मृतक तामाङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका बासिन्दा रहेको खुलेको बताए। उनको बाबुको नाम श्यामबहादुर दोङ तामाङ र आमाको नाम बिनु तामाङ रहेको घिमिरेको भनाइ छ।
प्रहरी अनुसन्धानका क्रममा अर्जुन यसअघि दुई घटनामा संलग्न रहेको खुलेको छ। ती घटनामा अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा सवारीचालक अनुमतिपत्र प्रयोग गर्ने गरेको खुलेको घिमिरेले बताए।
प्रहरीका अनुसार २०८२ साल कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा अर्जुन संलग्न रहेको र घटनापछि फरार रहेको खुलेको छ। उक्त घटनाका क्रममा उनले सुनिल तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।
त्यस्तै, करिब तीन महिनाअघि मलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि उनले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्रिपुरेश्वरमा भएको पछिल्लो घटनामा भने उनले दाबा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ। त्यही अनुमतिपत्र भेटेपछि प्रहरीले उनी दावा लामा भएको सञ्चारमाध्यमलाई जानकारी गराएको थियो।
अनुसन्धानका क्रममा अर्जुनले दाबा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गर्दै आएको तथ्यहरू फेला परेको घिमरेले बताए।
अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गरेको विषयमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।












